Shittalpati
भागरथी हत्याको उचित अनुसन्धान गर

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त हत्याको घटना सेलाउन नपाउँदै पुनः त्यस्तै जघन्य अपराध घटेको छ । निर्मला पन्थको परिवारले अझै पनि न्याय नपाएको समयमा बैतडीको दोगडाकेदार ७, चडेपानीकी १७ वर्षीया किशोरीको बलत्कारपछि हत्या भएको समाचार बाहिर आएको छ । घरबाट स्कूल पढ्न हिडेकी भागरथी भट्टको गत विहीबार बलात्कारपछि हत्या भएको छ । नेपालमा यसरी क्रमिक रुपमा जघन्य अपराधहरु घट्दै जाँदा आम नागरिकमा त्रासको वातावरण सिर्जना भएको छ । प्रहरीले घटनालाई शंकास्पद मान्दै अनुसन्धान थालेको छ ।

वर्षौ वितिसक्दा पनि निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन् । अहिलेसम्म दोषी पत्ता नलाग्नुले राज्यसंयन्त्रप्रति शंका गर्नुपर्ने अवस्था आएको छ । भागरथीको हत्याकाण्डमा पनि त्यस्तै नियति दोहोरिने हो कि भन्ने आशंका बढेको छ । यो आशंका निवारणका लागि पनि भागरथीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्छ । घटनाबारे गहिरो अनुसन्धान हुनुपर्छ । यो र त्यो बहानामा अपराधीलाई उन्मुक्ति दिनु हुँदैन । मृतकको परिवारलाई न्याय दिने काममा कुनै कसर बाँकी राख्नुहुन्न । दुई महिना अघि मात्रै उनले मधुमेहका कारण ५२ वर्षीय बाबु गुमाएकी थिइन् । घरको आर्थिक अवस्था नाजुक रहेकाले परिवारको जिम्मेवारी उनकै काँधमा थियो । पति वियोगमा रहेकी आमाको हेरचाह, घरायसी काम र पढाइलाई उनले सँगसँगै अघि बढाइरहेकी थिइन् । यसैबीच, उनी आफैं पनि मारिएकी छन् । परिवारले एउटा अकल्पनीय त्रासदी बेहोर्नुपरेको छ । जे भने पनि, वास्तवमा यो घटना सम्पूर्ण अपराधीहरूलाई राज्यले कानूनी कठघरामा उभ्याउन नसक्नुको एउटा परिणति हो । अनुसन्धान गरी दोषीउपर मुद्दा चलाउने दायित्व भनेको स्थानीय प्रहरीकै हो । तसर्थ, बैतडी प्रहरीसामु यो घटनामा न्याय दिलाउनुपर्ने ठूलो अभिभारा छ, जुन उसले जसरी पनि अविलम्ब पूरा गर्नुपर्छ । प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालय र अदालत पनि यसमा गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update