Shittalpati
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य

कृष्ण पोखरेल
पाल्पा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले वर्तमान बहुमत सरकारको कदम प्रेस विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारणसभालाई बुधबार तानसेनमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्वन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना विपरित भएको बताएका हुन् । उनले सरकारको यस्तो गलत कदमका विरुद्ध सिङ्गो पत्रकार महासंघ नै विरोधमा उत्रिनु परेको बताए । अध्यक्ष आचार्यले सरकारले नागरिकहरुको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्म विपरित काम गर्दै आएकाले पत्रकारहरु नागरिकहरुको अधिकार रक्षाको लागि सधै प्रतिपक्षको भूमिकामा रहदै आएको धारणा व्यक्त गरे । पार्टी भित्रको आपसी झगडाले संविधानमा ग्यारेन्टी गरेका नागरिकका अधिकारहरु समेत संकटमा परेका कारण नागरिक समाजको अगुवा संस्था भएकाले सरकारले चालेको कदम असंवैधानिक भएको उनले बताए । अध्यक्ष आचार्यले भने ‘सरकारका यस्ता गतिविधीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथी नै खतरा पैदा हुन्छ भनेर नै पत्रकार महासंघले पटक –पटक खबरदारी गर्दै छ ।’
पत्रकार महासंघको इतिहासमा सबै पत्रकारहरुलाई समान अधिकार प्रदान गर्ने अभियानका साथ आउदो अधिवेशनदेखी हरेक पत्रकार जिल्लादेखी केन्दसम्म प्रतिष्पर्धा गर्न पाउने, जिल्लाका पत्रकारहरुले प्रत्यक्ष रुपमा आफ्नो प्रतिनिधी चयन गर्न पाउने गरी नेतृत्व चयन हुने अध्यक्ष आचार्यले बताए । सरकारबाट वितरण हुने विज्ञापनको १० प्रतिशत रकम पत्रकार कल्याणकारी कोषमा राख्ने सर्वाेच्च अदालतबाट फैसला भएकाले कार्यान्वयनको चरणमा रहेको उनले धारणा व्यक्त गरे ।
साधारण सभामा महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा बरिष्ठ पत्रकार मेघराज शर्माले केन्द्रीय महासंघ काठमाडांैमा मात्र रमाएको काठमाडौं बाहिरका पत्रकार तथा सञ्चारगृहको समस्यामा ध्यान पुर्‍याउन नसकेको बताए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले कोरोनाका कारण हजारौ पत्रकारहरुको जागिर धरापमा परेको, कयौ पेशाबाट पलायन भएको अवस्थामा समेत सरकारले ध्यान नदिएको बताए । कार्यक्रममा लुम्विनी प्रदेशका सांसद नारायण आचार्य, नेपाली काँग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष रेवन्त बहादुर विष्ट, राष्ट्रिय जनमोर्चा नेपालकी नरमती सिंजाली, तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी. प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला समन्वय अधिकारी धुव्र कुवँर, पुरस्कारदाताहरु बुद्धि प्रसाद शर्मा, लिलाबहादुर कार्की, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्की, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सीना, युनाईटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारक, प्याव्सन पाल्पाका अध्यक्ष भरत न्यौपाने, पुरस्कृत पत्रकार देव पचभैया लगायतले पत्रकार महासंघले गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापती झपेन्द्र गहिरेले पुरस्कार छनौट तथा सिफारिसको बारेमा जानकारी दिएका थिए । महासंघका अध्यक्ष राजेश कुमार अर्यालको सभापतित्व,महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीको धन्यवाद ज्ञापन, उपाध्यक्ष भरत शर्माको स्वागत, सचिव किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
साधारणसभाले सचिव किरण कौशलको संघठानिक प्रतिवेदन, कोषाध्यक्ष मिलन विकको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले लुम्विनी मेडिकल कलेजको सहयोगमा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारको कार्यविधी पारित गरेको छ भने पत्रकारहरुको हकहितको लागि पत्रकार सहकारी संस्था सञ्चालन गर्ने निर्यण गरेको छ । बन्दसत्रमा उठेका विषयवस्तुहरुलाई लिपिवद्ध गर्दै महासंघका केन्द्रीय पार्सद जगदीश भट्टराईले लोककल्याणी विज्ञापनको रकम दोव्वर बनाउनु पर्ने, सो रकम जिल्ला बाटै पाउनु पर्ने, पत्रकार तथा सञ्चारगृहका नविकरण लगायतका सबै काम जिल्ला हुलाकबाटै हुनुपर्ने, समानुपापितक विज्ञापन तत्काल कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update