Shittalpati
जेष्ठ नागरिक समाजका मार्गदर्शक : अध्यक्ष बस्याल

हाम्रा संवाददाता
पाल्पा, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताएका छन् । बगनासकाली वडा १ चितुङ्गधाराले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेष्ठ नागरिक समाजका मार्गदर्शक भएको बताएका हुन् । अध्यक्ष बस्यालले जेष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै जीवनका विभिन्न उकाली ओराली पार गर्दै जेष्ठ नागरिकले सङ्गालेका अनुभव नयाँपिढीका लागि महत्वपूर्ण मार्गदर्शन हुने भएकोले जेष्ठ नागरिकको हक हित संरक्षण र सहयोगमा बगनासकाली गाउँपालिका प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।

बगनासकाली वडा १ चिर्तु·धारा जेष्ठ नागरिक समितिका अध्यक्ष विष्णुप्रसाद ढु·ानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ८१ वर्षदेखि ८३ वर्ष उमेरका ३५ र १ सय ७ वर्षीय जेष्ठ नागरिक १ जना गरी ३६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा, पोषण सामग्री सहित सम्मान गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले रोजगारीका लागि युवा विदेशिने प्रचलनले गाउँ–गाउँमा जेष्ठ नागरिकहरू एक्लिएको बताउँदै अग्रजका अनुभवबाट छोरानाती पुस्ताले शिक्षा ग्रहण सक्छन् भन्ने सन्देश समाजमा फैलाउनु आवश्यक रहेको बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनाल, वडा १ का वडाअध्यक्ष सोमबहादुर झेंडी, वडा २ का वडा अध्यक्ष टेकनाथ शर्मा गहिरे, नेकपाका प्रतिनिधि विष्णुप्रसाद खनाल, नेपाली काँग्रेसका प्रतिनिधि नरबहादुर राना, राप्रपाका कपिल ढुङ्गाना लगायतले युवास्ताले जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन भन्ने कुरा भुल्न नहुने भनाइ राखेका थिए । वडाको आ.व.२०७६/०७७ को ५० हजार जेष्ठ नागरिक सम्मान लक्षित कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम आयोजना गरिएको हो । बगनासकाली गाउँपालिका वडा १ मा सामाजिक सुरक्षा भत्ता बुझ्ने र अन्य गरी ३ सय जना जेष्ठ नागरिक रहेको वडा पालिकाले जनाएको छ । वडा सचिव नन्दा चिदीको स्वागत, वडा सचिव विराट गैरेको सञ्चालनमा सम्मान कार्यक्रम भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update