
रामचन्द्र रायमाझी
पाल्पा, प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिन्थे । उनी कुनै कामका लागि त्यहाँ गएका होइनन् । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिन्थे । सधैँ नाम्लो नछुट्ने उनको टाउकोमा नयाँ ढाका टोपी र गलामा ढाकाकै खादा देखिन्थ्यो । सदाको दिन भन्दा उनको अनुहारमा अलि खुसीको बहार देख्न सकिन्थ्यो । उनी मात्रा होइन त्यहाँ अन्य ३० जना श्रमिक महिला र पुरुषहरु पनि कुर्चीमा बसेर भाषण सुनिरहेका थिए । दैनिकजसो सडकमा कामको खोजी गर्दै हिड्ने उनीहरु एकाएक विशेष पाउनका रुपमा कार्यक्रममा उपस्थित हुन पाउँदा निकै हर्षित देखिन्थे । सधैँ झुद्रे झाम्रे भएर सडकमा भारी बोकेर हिड्ने श्रमिकहरु एकाएक कार्यक्रमस्थलमा ढाका टोपी, खादामा सजिएको देख्दा विशाल बजारवासीहरु चकित थिए । यो दृष्य हो सोमबार तानसेनको विशाल बजारमा सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाले आयोजना गरेको श्रमिक सम्मान कार्यक्रमको ।
सर्कलले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता स्व.सुशिल कोइरालाको स्मरणमा तानसेनमा ज्याला मजदुरी गर्दै आएका श्रमिक तथा मजदुरहरुलाई सम्मान गरेको छ । पसिना बगाएर परिवार पाल्न सहर पसेका तिनै श्रमिक, मजदुरहरुले गर्दै आएको कामको उच्च सम्मान गर्दै सर्कलले उनीहरुलाई सम्मान गरेको हो । विकास निर्माणका योजना सम्पन्न भएपछि नेता, समन्वयकर्ता र चन्दादातालाई सम्मान गरिने प्रचलन रहे पनि दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुलाई कसैले पनि सम्मान नगरेको अवस्थामा सर्कलले भने उनीहरुलाई सम्मान गरेर प्रशंसनिय काम गरेको नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले बताए । उनले वर्तमान कम्युनिष्ट सरकारले श्रमिक, मजदुरहरुको पक्षमा कुनै काम गर्न नसकेको धारणा व्यक्त गरे । सभापति रानाले गरिब मजदुर, श्रमजीवी पक्षको हितमा काम गर्न नेकपाले दुई तिहाई नजिक मत पाएपनि आफै भागवण्डा, पद सत्ताको लागि मात्र काम गर्दै जनतालाई सडकमै राखेको आरोप लगाए । नेपाली काँग्रेसकै नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानलाई सही बाटोमा ल्याउने काम पनि नेपाली काँग्रेसको भएको सभापती रानाले बताए । गरिब निमुखा श्रमजीवीहरुलाई नेपाली काँग्रेसले नै माथि उठाउने, उनीहरुको हकहितको विषयमा काम गर्ने उनले बताए । रानाले श्रमिकहरुलाई खादा, ढाका टोपी, माक्स तथा खाना खाजाको प्याकेट वितरण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता माधव नेपाल, स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्यापसका पूर्व सभापती हरिवोल भट्टराई, नेविसंघका पूर्व केन्द्रिय सदस्य मोतिलाल भण्डारी, नेविसंघ पाल्पाका कार्यवाहक सभापती शुरेस बोहोरा, युर्थ सर्कल पाल्पाका प्रेस संयोजक सन्तोष गहतराज लगायतले सुशिल कोइराला मजदुर पृष्ठभूमीबाटै राजनेता भएकाले उनले गरिब, श्रमिक, मजदुरहरुको उत्थानका लागि अगाडि सारेका मुद्दाहरु काँग्रेसले साकार पार्नुपर्नेमा जोड दिए । सर्कलले श्रमिकहरुलाई सम्मानसँगै एक छाक निःशुल्क भोजन समेत गराएको थियो । सर्कलका जिल्ला सभापति युवराज चन्द ठकुरीको सभापतित्व, उपाध्यक्ष विपना राणाको स्वागत, कोषाध्यक्ष श्रीषा बज्राचार्यको धन्यवाद, सह–सचिव विवेक भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।