Shittalpati
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा

रमेश विश्वकर्मा
गुल्मी, केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।

जिल्ला आएको छोटो समयमै शान्ति सुरक्षा व्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न र विपद् व्यवस्थापनमा सक्रिय रहदै आएकी शर्मा चिसोका कारण जेष्ठ नागरिक बढी प्रभावित हुने भन्दै चिसोबाट जोगाउन न्यानो कपडा स्वरुप कम्बल लिएर शनिबार आश्रम पुगेकी हुन् । उनले जिल्ला विपद् व्यवस्थापन कोषको रकमबाट त्यहाँका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिन् । प्रजिअ शर्माले आश्रममा रहेका ४८ जना वृद्धवृद्धाहरुको लागि १० थान कम्बल दिएकी थिइन् । चिसो बढेका बेला कम्बल लिएर सिडियो नै आश्रममा पुगेपछि त्यहाँका वृद्धवृद्धाहरु खुसी भएका थिए । चिसोले आफुहरुलाई समस्या उत्पन्न भएको अवस्थामा कम्बल पाएकोमा सुखी लागेको ८९ वर्षीया एक वृद्धले बताइन् । उनले भनिन्, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’ आश्रममा बस्ने जेष्ठ नागरिकहरु र स्याहारसुसार गर्ने तथा भान्सेहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पनि लगाइदिइएको छ । आश्रममा रहेका ४८ जना वृद्धवृद्धा र १२ जना उनीहरुको स्याहार सुसार गर्ने तथा भान्सेहरुलाई खोप लगाइएको प्रजिअ शर्माले बताइन् । उनले त्यहाँका वृद्धवृद्धाहरुलाई व्यक्तिगत खर्चमा एकछाक भोजन समेत गराएकी छन् ।

यस्तै प्रजिअ शर्माले सोही समयमा २०७५ सालमा ठूलोलुम्पेकमा गएको भीषण पहिरोबाट विस्थापित घरपरिवारको गाउँपालिका र प्रदेश सरकारको सहयोगमा निर्माण भएका र निर्माणाधीन स्थायी आवासको समेत निरीक्षण गरेकी छन् । उनले गतवर्ष संघको शसर्त अनुदानबाट स्थायी आवासहरु निर्माण भएतापनि पूर्णरुपमा निर्माण नभएको हुनाले सम्बन्धित निकायमा आफुहरुले पहल गर्ने बताइन् । अहिलेसम्म गाउँपालिकाले २४ वटा घरहरु निर्माण गरिसकेको छ । प्रदेशबाट ७९ वटा घरहरु निर्माण गर्ने भनेता पनि अहिलेसम्म पूर्णरुपमा निर्माण भएका छैनन् ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update