Shittalpati
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो

पाल्पा (माथागढी), माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो । गाउँपालिकाबाट हस्तान्तरण भएका ३ वटा कार्यक्रम तथा योजनाहरु कार्यान्वयको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । उनका अनुसार बाँकी ३ वटा कार्यक्रमहरु भने सम्झौता भई प्रक्रियाका रुपमा अघि बढेका छन् ।

सम्पन्न भएका कार्यक्रमहरुमा दुई लाख रुपैयाँको पशुपक्षीका लागि औषधी खरिद तथा व्यवस्थापन कार्यक्रम र दुई लाख रुपैयाँकै व्यवसायिक कुखुरापालन कार्यक्रम अन्तर्गत स्थानीय कुखुराको चल्ला वितरण रहेको छ । त्यस्तै सम्झौता भई कार्यान्वयनको चरणमा रहेका कार्यक्रमहरुमा दुई लाख रुपैयाँ कै व्यवसायिक दूग्ध उत्पादन कार्यक्रम अन्तर्गत दूग्ध सामग्री वितरण, दुई लाख रुपैयाँकै नश्ल सुधार कार्यक्रम अन्तर्गत वोयर बोका तथा उन्नतजात बंगुरको बिउ वितरण र दुई लाख रुपैयाँकै घाँसको बिउ अनुदान कार्यक्रम अन्तर्गत हिउँदे, वर्षे र बहुवर्षे घाँस खरिद रहेका छन् । यसैगरी सम्झौता भएका कार्यक्रमहरुमा वडा ३ को कसेनीका २० घर परिवारहरुलाई पाँच लाख रुपैयाँको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि बंगुर पालन कार्यक्रम, दुई लाख रुपैयाँकै बाख्रा र बंगुर पालन कार्यक्रम, वडा ७ रहवासको २० घर परिवारहरुलाई तीन लाख रुपैयाँको व्यवसायिक बाख्र्रापालन कार्यक्रम रहेको छ । गाउँपालिकालाई संघीय सरकारबाट सर्शत अनुदान कार्यक्रम अन्तर्गत आएको १५ लाख रुपैयाँको बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन भई सम्झौता हुन बाँकी रहेको र १० लाख रुपैयाँको लागत साझेदारीमा बाख्रा प्रवद्र्धन कार्यक्रम पनि सम्झौता हुन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update