Shittalpati
राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान शुरु

खस्यौली, राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान बिहीबारदेखि रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियाबाट शुरु भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर अभियानको शुभारम्भ गरेका हुन् । रुपन्देहीमा तीन चरणमा एक लाख नौं हजार ७ सय ९९ बालबालिकालाई दादुरा रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । फागुन १ देखि ९ गतेसम्म सात पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८ सय १४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ ।

त्यसका लागि ९ सय २८ कर्मचारी र एक हजार ६ सय २८ स्वयंसेवक परिचालन भएको स्वाथ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल प्रदेशको गौरवको आयोजना भएको उल्लेख गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारमा चुनौती भएकाले प्रादेशिक अस्पतालको सटर हटाइएको जानकारी दिए । उनले उक्त अस्पताललाई विशेषज्ञ सेवा पाउने अस्पतालको रूपमा समेत रुपान्तरण गर्न खोजेको बताउँदै अझै पनि स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुग्न नसकेकामा चिन्ता व्यक्त गरे । ‘स्वास्थ्यलाई मौलिक हकका रूपमा आत्मसात गरिएको छ र सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क समेत भनेको छ, तर व्यवाहरिक रूपमा त्यस्तो देखिएको छैन’ मुख्यमन्त्री पोखरेलले भने ।

राष्ट्रियसभामा सत्तारुढ दलका सचेतक खिमलाल भट्टराईले जनताको स्वास्थ्य अधिकारप्रति सबैको साझा दायित्व आवश्यक भएको बताए । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको सेवा नगरपालिकामा शुरु भएको जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरी, स्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठ लगायतले पोलियो थोपा र खोपको फाइदाका विषयमा जानकारी दिए । संघीय सरकारले ३० लाख बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्ने र तराईका १९ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update