Shittalpati
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रमेश विश्वकर्मा
गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नं. १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा बस्ने जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको हो ।

शनिबार जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आश्रमका जेष्ठ नागरिकलाई चिसोबाट जोगानका लागि न्यानो कपडा स्वरुप कम्बल वितरण गरिन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट त्यस आश्रमको लागि १० वटा न्यानो कपडा स्वरुप कम्बल लगिएको थियो । ४८ जना जेष्ठ नागरिकहरु बस्ने यस आश्रममा बस्दै आएका छन् ।

सबै भन्दा जेष्ठ ८९ वर्षकी एक वृद्ध आमालाई स्वय प्रजिअ शर्माले न्यानो कपडा स्वरुप कम्बल हस्तान्तरण गरिन् । न्यानो कम्बल पाउँदा वृद्धआमा अत्यन्तै खुसी भएकी थिइन् । प्रजिअ शर्माले भनिन्,“अरु बाँकी नौ वटा कम्बल आश्रमलाई हस्तान्तरण गरिएको छ । आवश्यकताको आधारमा जाडोबाट प्रभावितहरुलाई उक्त कम्बलहरु आश्रमले वितरण गरोस् ।”

स्वास्थ्य कार्यालय गुल्मीद्वारा आश्रममा बस्ने जेष्ठ नागरिकहरु र स्याहार सुसार गर्ने तथा भान्सेहरुलाई कोरोना भाइरस (कोभिड–१९ं) विरुद्धको खोप पनि लगाइएको उनले बताइन् । आश्रम बस्दै आएका ४८ जना वृद्धवृद्धा र १२ जना वृद्धावृद्धको स्याहार सुसार गर्ने तथा भान्सेहरुलाई खोप लगाइएको हो । त्यस आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई प्रजिअ शर्माले आफ्नो व्यक्तिगत तर्फबाट एकछाक भोजन समेत उपलब्ध गराएकी हुन् ।

त्यस्तै प्रजिअ शर्माले २०७५ सालमा त्यस गाउँपालिकाको ठुलोलुम्पेकमा गएको भीषण पहिरोबाट विस्थापित घरपरिवारलाई गाउँपालिका र प्रदेश सरकारको सहयोगमा निर्माण भएका र निर्माणाधीन स्थायी आवासको समेत निरीक्षण गरिन् । उनले गतवर्ष संघको ससर्त अनुदानबाट स्थायी आवासहरु निर्माण भएतापनि पूर्णरुपमा निर्माण नभएको हुनाले सम्बन्धित निकायमा आफुहरुले पहल गर्ने बताइन् । अहिलेसम्म गाउापालिकाले २४ वटा घरहरु निर्माण गरिसकेको छ । प्रदेशबाट ७९ वटा घरहरु निर्माण गर्ने भनेतापनि अहिलेसम्म पूर्णरुपमा निर्माण भएका छैनन् ।

 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update