
पाल्पा, प्रतिनिधिसभा विघटन विरुद्ध पाल्पामा पनि नेपाली काँग्रेसका शुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार नेपाल ट्रे्ड युनियन कांग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका थिए ।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, मानव अधिकारको रक्षा गर,विधिको शासन कायम गर, श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर,प्रेस स्वतन्त्रता विरोधी कानुन संशोधन गर , लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर ,समानुपातिक विज्ञापन निति लागु गर, श्रमजीवी पत्रकार ऐन लागु गर,पेशागत सुरक्षाको ग्यारेन्टी गर ,‘अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?’,‘कोरोना कहरमा पत्रकारको विचल्ली’,‘नेता भोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’,कोरोनाबाट प्रभावित पत्रकारलाई राहतको प्याकेज ल्याऊ जस्ता माग लेखिएको थियो । उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस,नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन,नेपाल निजामती कर्मचारी युनियन,प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ लगायतका संघसंस्थाहरु विरोधमा उत्रिएका थिए ।
पछिल्लो समय लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्ने काम भएकाले त्यसको विरुद्धमा नेपाल प्रेस युनियन पनि शान्तिपूर्ण सडक प्रदर्शनमा उत्रिएको युनियनका जिल्ला सभापति भरत शर्माले बताए । कोरोनाकालमा समेत सबैभन्दा पिडित रहेका श्रमजिवी पत्रकारहरुलाई लक्षित गरी विशेष प्याकेज तथा कार्यक्रम ल्याउन युनियन पाल्पाले सरकार समक्ष माग गरेको छ ।
आयोजित सभामा बोल्दै नेपाल शिक्षक संघका सभापति धनाकला गाहाले संविधान विपरित गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताईन् । उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले संसद् विघटन गरेकाले पार्टीको केन्द्रिय सर्कुलर अनुसार आफूहरु विरोध प्रदर्शनमा उत्रिएको जानकारी गराइन् ।