
पाल्पा, सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
सडक कार्यालयका अनुसार राजमार्ग अन्तर्गत सिद्धार्थ राजमार्ग र सहायक राजमार्ग अन्तर्गत तानसेन–तम्घास सडकखण्डमा बनेका संरचनाहरु रहेका छन् । त्यस्ता सडक अतिक्रमण गरी बनाइएका संरचना ७ दिनभित्र हटाउन सडक कार्यालयले मंगलबार एक सूचना नै जारी गरेको छ ।
सार्वजनिक सडकसँग जोडिने गरी प्रवेशमार्ग बनाउन, घरटहरा निर्माण गरी सडकको जग्गा आवाद गर्न,, होर्डिङ्बोर्ड राख्न, आइल्याण्ड÷शालिक÷ यात्रु प्रतिक्षालय, देवालय र मठ मन्दिर निर्माण गर्न सार्वजनिक सडक ऐन २०३१ को दफा १९ अनुसार निषेध गरिएकोले तोकिएको मितिले ७ दिन भित्र हटाउन पर्ने सूचनामा उल्लेख गरिएको छ । यस्तै पेट्रोलरडिजेल पम्प, ग्यास फिलिङ् स्टेसन तथा डम्पिङ् गरिएका निर्माण सामग्री समेत हटाउनुपर्ने छ । यदि कसैले सूचनाको अटेर गरेमा सार्वजनिक सडक ऐन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।