Shittalpati
भोलि आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार पाल्पा सहित देशव्यपापी रुपमा हड्तालको घोषणा गरेको हो । केन्द्रीय सर्कुलर अनुसार पाल्पामा पनि एक प्रेस वक्तव्य जारी गर्दै आमहड्ताल सफल पार्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको नेकपा पाल्पाले जनाएको छ । ‘असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध आन्दोलिन रहेको अवस्थामा बुधबार सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैर कानूनी ढंगले नियुक्त गरेका संवैधानिधक अंगका पदाधिकारी एवम् सदस्यहरुलाई बल मिच्याई गरी सपथ ग्रहण गराइएको छ । यो कदम अवैधानिक छ । सपथ ग्रहण गराउनु निरंकुशता, निर्लज्ताको पराकाष्ठ हो ।’जिल्ला सचिव राजेन्द्र विक र कार्यालय सदस्य कमल पाण्डेद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ । नेकपाले यसको घोर भ्रत्र्सना गर्दै खारेजीको माग गरेको छ ।

आम हड्तालको कार्यक्रमलाई व्यापक सर्मथन एवं सहभागिता सहित पूर्ण रुपमा सफल पार्न पाल्पा जिल्ला स्थित सम्पूर्ण राजनीतिक पार्टी, नेता, कार्यकर्ता, पत्रकार, नागरिक समाज, बुद्धिजीवि, शिक्षक, पेशाकर्मी, मजदुर, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, युवा विद्यार्थी लगायत सम्पूर्ण जनसमुदायमा नेकपा पाल्पाले अपिल गरेको छ । आम हड्तालमा यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायतका सबै क्षेत्र बन्द रहने जनाइएको छ । त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने नेकपाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update