Shittalpati
आज विश्व सिमसार दिवस मनाइदै

पाल्पा, प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ । सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण संघ नेपालको गत वर्षको अभिलेख अनुसार नेपालमा १ सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो । सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ ।

विभागको तथ्याड्ढ अनुसार नेपालमा पाइने १ सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । यसैगरी नेपालमा पाइने ८ सय ७८ प्रजातिका चरामध्ये १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update