Shittalpati
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान

पाल्पा, माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।

सामुदायिक र संस्थागत गरी ४५ वटा विद्यालयका उत्कृष्ट अभिभावक तथा विद्यार्थीहरूलाई गाउँपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले शिक्षक खुसी भए बालबालिका पनि खुसी हुने भएकाले शिक्षकहरुलाई जहिले पनि खुसी बनाउन अभिभावकको उत्तिकै दायित्व रहेको बताए । हरेक विद्यालयले नियम अनुसार विद्यालय सञ्चालन गर्न सके विद्यालयको शिक्षामा सुधार आउने र विद्यालयले पटक–पटक शिक्षक फेर्नु भन्दा शिक्षकहरुलाई तालिम प्रदान गर्न सके टिकाउ हुनेमा जोड दिए । उनले गाउँपालिकाको शिक्षालाई व्यवहारिक, गुणस्तरीय बनाउने अभियानमा गाउँपालिकाले दीर्घकालिन योजना बनाएर अगाडि बढेको बताए । अध्यक्ष थापाले कोभिडका कारण लामो समय शैक्षिक संस्थाहरु बन्द भएको समयमा वैकिल्पक माध्यमबाट गाउँपालिकाले विद्यार्थीहरुको पठन–पाठनलाई निरन्तर दिएको धारणा व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले अभिभावक र विद्यार्थीहरुलाई गरिएको सम्मानले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरिन् । आगामी दिनहरुमा पनि अभिभावक र विद्यार्थीहरु मनोवल उच्च बनाउनका लागि सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । कार्यक्रममा गाँउपालिका ४ का वडा अध्यक्ष मधु पराजुली, विद्यालयका प्र.अ, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईको स्वागत, शिक्षा शाखा संयोजक गजेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update