Shittalpati
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप

तम्घास (रासस) । गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।

इस्मा गाउँपालिका १ का मोतीबहादुर कँुवरको गत भदौ २१ गते आफ्नै पसलमा विभत्स हत्या भयो । हत्या भएको करिब पाँच महिना पुग्न थाल्यो । गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । लामो समयसम्म हत्या किन र कसले गरेको भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको छ । ‘मृतकका केही आफन्त र अन्य महिलामाथि पनि प्रहरीले शङ्खा गरेको थियो’, स्थानीय वीरबहादुर खत्रीले भन्नुभयो, ‘अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा स्थानीयवासीमा त्रास बढ्दै गएको छ ।’ रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक यही माघ ३ गते बिहान ११ बजे ज·लमा घाँस काट्न गएका थिए । सोही दिन दिउँसो २ः३० बजेतिर गुल्मीदरबार गाउँपालिका १ को बलिथुममा उनी मृत भेटिए । उनका छातीमा बन्दुकका छर्रा रहेको बताइएको छ । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ । गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन् । हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । त्यस्तै गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका ३ का माधव पछाईँलाई मरणासन्न हुने गरेर कुटपिट गरे । पीडित परिवारले प्रहरीमा चार जना विरुद्ध किटानी जाहेरी दिएका दिए । ती मध्येका दुई हिरासतमा छन् भने बाँकी दुई अझै फरार छन् ।

तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हानेर इस्मा ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्यान गयो भने दुई गम्भीर घाइते भए । विपन्न मुखिया परिवार शोकमा डुबेका छन् । दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ । ‘रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुपर्‍यो’, मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भने, ‘घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्‍यो ।’ यस्तै जिल्लामा हत्याका घटना मात्र होइन्, किसानमाथि पनि आक्रमण भइरहेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्राफार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आगो लगाइदिए । छिनभरमै फार्ममा रहेका २५ बाख्रा मरे । फार्मको संरचनासहित ७० लाखभन्दा बढीको क्षति भयो । मालिका गाउँपालिका ७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे । त्यसका साथै पाइप र सिँचाइका सामग्रीमा क्षति गरे । तर दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । गुल्मीदरबार गाउँपालिका ४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भयो । उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए । आरोपितविरुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी गर्‍यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले सबै घटनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । कतिपय घटनास्थल टाढा भएकाले जिल्लाको टिम जान नपाएको उनले बताए । साथै स्थानीयवासीबाट राम्रो साथ र समन्वय नहुँदा पनि समस्या भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घटनाप्रति आफूहरु गम्भीर रहेको बताईन् । प्रशासन नजिकै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उनले घटनाका विषयमा सुरक्षा समितिमा समीक्षा भएको बताएकी छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update