.jpg)
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
विगतमा गरिएका हस्तलिखित अभिलेखहरु हराउने, च्यातिने र समयमै उपलब्ध गराउन नसकिने भएकाले उक्त सेवालाई डिजिटाइजेशन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । उनले भने, ‘ जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता हस्तलिखित घटना दर्ता अभिलेखहरु डिजिटाईजेशन सम्बन्धी हरेक कार्य अब डिजिटलमार्फत गरिने छ ।’ अहिले गाउँपालिकाले वडा नं ४ र ६ मा उक्त सेवा सञ्चालन गरिसकेको छ । गाउँपालिकाले उक्त सेवाका लागि परामर्शदाता तथा डाटा अपरेटरहरुलाई अभिमुखिकरण तालिम समेत सञ्चालन गरेको छ । घटना दर्तालाई कसरी डिजिटाईजेशन गर्ने भनि गाउँपालिकाले सेवा प्रदायकलाई २ दिने अभिमुखिकरण तालिम दिएको छ । वडाबाट गरिने घटना दर्ताहरु अव्यवस्थित हुनुको साथै र हराउने, च्यातिने हुने भएकाले तिनीहरुलाई व्यवस्थित गर्न सेवालाई डिजिटाईजेशन गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडा अध्यक्ष मधु पराजुलीले बताए । गाउँपालिकाले यस अघि नै सेवालाई सूचना मैत्री बनाउन मोवाइल एप र अडियो नोटिस बोर्ड समेत सञ्चालन गरेको छ ।
सेवाग्राहीमा सूचनाको हक सुनिश्चित गर्नुको साथै गाउँपालिकाले सञ्चालन गरेका विकास निमार्णका कामहरु पारदर्शी बनाउन मोवाइल एप र सूचना वोर्ड सञ्चालनमा ल्याइएको छ । तर सेवाग्राहीहरुले त्यसको प्रयोग गर्न नजानेका कारण भने सेवा प्रभावकारी बन्न सकेको छैन । प्रविधिको बढ्दो प्रयोगसँगै सेवाग्राहीमा छिटो र सहज रुपमा सूचना प्रवाह गर्ने गरी गाउँपालिकाले आफ्नो सेवालाई सूचनामैत्री बनाउदै गएको छ । लामो समयदेखि जनप्रतिनिधि विहिन रहेको स्थानीय तहका गतिविधिहरु अब पारदर्शी र जनमैत्री बनाउन गाउँपालिका लागि परेको छ ।