Shittalpati
‘वैशाख पूर्णिमा’ देखि ‘वेदका भेद’ सम्म

पुष्कर अथक रेग्मी

‘वैशाख पूर्णिमा’ देखि ‘वेदका भेद’ सम्म आइपुग्दा देवेन्द्र राज शाक्य आध्यात्मिक आख्यानकार प्रवन्धकार, अनुसन्धानदाता, जीवनीकार, मानवतावादी कवि, मनोविश्लेषणवादी, आत्मकथाकार, आत्मोन्यासकार, दार्शनिक एवं आध्यत्मिक साहित्यकारको रुपमा प्रतिष्ठापित भएका छन् । समग्रमा भन्नु पर्दा यिनी बौद्ध वाङमयको आकाशमा अगुंवा साहित्यकारको रुपमा स्थापित छन् ।
देवेन्द्रराज शाक्यद्धारा लिखित पहिलो प्रकाशित कृति बैशाख पूर्णिमा (२०६१) हो । धर्मदानका लागि लेखिएको यो पुस्तकको मूल्य निःशूल्क रहेको छ । बौद्धमार्गीहरुले बैशाख पूर्णिमालाइ्र्र पाँच संयोगका पूनित दिवसको रुपमा मनाउँदै आएको प्रसंग पुस्तकमा उल्लेख गरिएको छ । यस कृतिमार्फत शाक्य नेपाली बाङमयको जनसंख्यामा आध्यात्मिक आख्यानकारको रुपमा पदार्पण भएका छन् ।

शाक्यद्धारा लिखित बुटवल सम्बन्धि परिचयात्मक कृति यो बटौली हो (२०६१) भित्र संक्षेपमा बुटवलको चित्रण गरिएको छ । प्रागऐतिहासिक रामामिथेकसको बुटवल, बुद्धवल्ली क्षेत्र ऋषिमुनिहरुको तपोभूमि र उजिरसिंह थपाको संग्रामस्थलको परिचय दिइएको छ । यस कृति मार्फत देवेन्द्र राज शाक्य बटौलीलाई माया गर्ने प्रवन्धकारको रुपमा उपस्थित भएका छन् । विश्वशान्तिको शहर लुम्बिनी (२०६२) शाक्यद्धारा लिखित तेस्रो प्रकाशित कृति हो । यो पुस्तक लुम्बिनीका बारेमा सोध खोज गर्न चाहने अनुसन्धानदाताहरुका लागि अति सहयोगी र उपयोगी रहेको छ ।

कृति भित्र बुद्धकालीन दुर्लभ र केहि आधुनिक तस्विरहरु समेत सङ्ग्रहित रहेका छन् । देवेन्द्रराज शाक्यको अर्को प्रकाशित कृति तथागत बुद्धसँग सम्बन्धित केहि घटना विवरण पुस्तक महामानव बुद्ध (२०६५) हो । पुस्तकभित्र महामानव भगवान गौत्तम बुद्धको जीवनी संक्षेपीकृत गरिएको छ । चार आर्य सत्यलाई उजागर गरिनुका साथै कालदेवल ऋषिले समेत राजकुमार सिद्धार्थलाई देख्ने बित्तिकै आशनबाट उठेर अत्यन्त आदरका साथ बन्दना गरेको देखि राजा शुद्धोधनले पनि पुत्रलाई पहिलोपल्ट बन्दना गरेको रोचक प्रसंग उदृत गरिएको छ । प्रस्तुत कृतिमार्फत लेखक शाक्य जीवनीकारका रुपमा समेत उदय भएका छन् । ममतामयी माता पुतली शाक्यको ७२ औं शुभ जन्मदिनको अवसरको शाक्यद्धारा लिखित एवं प्रकाशित कृति आमा (२०६८) कविता सङ्ग्रह हो । सङग्रह भित्र ४१ वटा कविता र ७ वटा मुक्तकहरु संकलित छन् । ‘आमा’ शीर्षकबाट शुरु भएको कविता रेडक्रस ‘शिर्षक’ मा अन्त्य भएको छ । कविता भित्र शाक्य कतै वुद्धमार्गी भएर शान्तिको ( खोजीमा भौतारिरहेका छन् भने कतै प्रकृतिसँग आनन्द लिएरहेका छन् । अनुशासन र आचारसंहिताको पालना गर्न गराउन कविता सङग्रहले सिकाएको छ । यस कृतिमार्फत शाक्य मानवतावादी कविका रुपमा उदय भएका हुन् । बुद्धकालिन केही प्रमुख विहारहरु (२०७६) देवेन्द्र राज शाक्यको छैठैं प्रकाशित कृति हो । पुस्तकभित्र सत्रवटा बुद्धकालिन विहारहरुको संक्षिप्त चर्चा गरिएको छ । प्रस्तुत पुस्तक अनुशन्धानदाताहरुका लागि अति नै उपयोगी रहेको छ । जीवनका अनुभूति भाग–१ (२०७१) शाक्यद्धारा लिखित जीवनपरक आत्मकथा हो । यस भित्र लेखकले जन्मदेखि आफ्नो ६५ वर्षसम्मको जीवनको अनुभूतिहरु उजागर गरेका छन् । यसै गरी उनको जीवनका अनुभूतिहरु दोस्रो भाग(२०७५) समेत प्रकाशित भएको छ । दुवै संग्रह भित्र लेखकले आफ्नो बाल्यकाल, किशोरकाल, वयस्ककाल र जेष्ठावस्थाको स्मरण गरेका छन् । सुख दुखका अनुभूतिहरु व्यक्त गरिनुका साथै महत्वपूर्ण घटना क्रमहरुलाई समेत प्रस्तुत गरिएको छ ।

थेरवाद बुद्धधर्म (२०७१) उनको आठौं प्रकाशित कृति हो । थेरवाद, महायान र बज्रदान गरी बुद्धधर्मका तीनवटा हाँगाहरु हुन्छन् । कृतिभित्र प्राचिन बुद्धधर्म थेरवादको व्यापीकरण गरिएको छ । प्राचीन कोलीय र शाक्य गणराज्य अन्र्तगतका बौद्ध सम्पदा (२०७३) शाक्यको अर्को महत्वपूर्ण प्रकाशित कृति हो । यसभित्र हालको देवदह क्षेत्र कोलीय गणराज्य र कपितवस्तु तिलौराकोट शाक्य गणराज भएको तथ्यफरक प्रस्तुतिहरु रहेका छन् । यसैगरी हाम्रो संस्कार र संस्कृति (२०७४) शाक्यको जानकारीमूलक पठनीम एवं संग्रहणीय महत्वपूर्ण प्रबन्ध कृति हो ।

आध्यात्मिक साहित्यकार देवेन्द्रराज शाक्यद्धारा लिखित एवं सम्मानित पुस्तक वेदका भेद (२०७६) हो । पुस्तक भित्र नौ वटा सम्पादित लेखहरु सङ्ग्रहित रहेका छन् । हिन्दु तथा बौद्ध वाङमयमा सरोकार राख्ने सबैका लागि पुस्तक महनीय, उदाहरणीय र पठनीय रहेको छ । एघारवटा एकल कृति प्रकाशित गरी सकेका लेखक र साहित्यकार देवेन्द्रराज शाक्यको धर्मपत्नी श्रीमती धर्मी शाक्यसंगै सयुक्त कृति बुटवलमा बुद्धधर्म(२०७५) प्रकाशित गरेका छन् । पुस्तकभित्र बुटवलको नामाकरण बुद्धवल्ली क्षेत्र, नरसंहार, प्रारम्भ, भिक्षुहरुको निष्कासन थेरवाद बुद्धशासनको पुनर्जागरण, बुटवलमा रहेका अन्य बौद्ध बिहार तथा गुम्बाहरु लगायत केहि तस्बिहरु सहित संक्षिप्त परिचय दिइएको छ । बुद्धवल्ली–बुढवल, बेढवली, बुटवली, बुटौली, बुटोल, बटैली हुँदै नामाकरण भएको थलो रुबुटवल’ हो । साहित्यकार शाक्यका अझैपनि बटौलीका सम्पदा, दशयारमिता, त्रिपिटक : बौद्धगन्थ जातक कथा सङग्रह, देवेन्द्र राज शाक्य स्रष्टा एक सिर्जना अनेक (मन्तव्य एवं समीक्षा सङगालो) प्रकाशोन्मुख कृतिका रुपमा रहेका छन् । शाक्य करिव आधा दर्जन पुस्तकहरुका सम्पादक/प्रकशकको रुपमा समेत रहेका छन् । लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन नारायण टोलमा वि.सं.२००६ साल माघ १ गते जन्म भई बुटवल उपमहानगरपालिका नँया सडक रुपन्देहीमा बसोवास गर्दै आएका देवेन्द्रराज शाक्य माता पुतलीदेवी शाक्य र पिता चिनियाँकाजी शाक्यको जेष्ठ सुपुत्र हुन् । दुई दर्जन भन्दा बढी सघं संस्थाहरुमा सम्लग्न देवेन्द्रले करिब दुई दर्जन कै हाराहारीमा पुरस्कार/सम्मान/कदर प्रशंसा पत्र प्राप्त गरेका छन् । त्रि.वि.बुटवल बहुमुखी क्याम्पसमा ३८ वर्ष सेवा पश्चात उपप्रशासक पदबाट सेवा निवृत हुनु भएका देवेन्द्र हृदयरोगबाट पिडित हुनुहुन्छ । साहित्य सिर्जन, आध्यात्मिक चिन्तन र समाजिक सेवा सहयोग आफूलाई समर्पित गराउदै जेष्ठ जीवन यापन गर्दै आउनु भएका आध्यात्मिक साहित्यकार देवेन्द्रराज शाक्यको बाँकी जीवन सुस्वाथ्य सहित समृद्धिमूलक रहिरहोस् ।
सुदीर्घजीवनको शुभकामना !

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update