Shittalpati
खोप अभियान सफल पारौं

पाल्पा सहित तराईका जिल्लामा पहिलो चरणमा दादुरा–रुबेला खोप अभियानको आजदेखि सुरुवात हुँदैछ । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत अभियान सुरु हुन लागेको हो । पाल्पामा दादुरा रुवेला खोप कार्यक्रम पहिलो चरणमा रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकामा सञ्चालन हुदैँछ । यस्तै दोस्रो चरणमा फागुन १५ गतेदेखि तानसेन नगरपालिका, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा सञ्चालन हुनेछ । यो अभियान अन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ । यो अत्यन्तै सकरात्मक रहेको छ । दादुरा अति संक्रामक रोग हो ।

नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमी आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान सञ्चालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमी आएको छ । दादुरा रोगीको उपचार गर्नु भनेको दादुरा रोगबाट उत्पन्न जटिलताहरुको उपचार गर्नु हो । दादुरा खोप नै दादुरा रोगबाट बच्ने एकमात्र भरपर्दो उपाय हो ।

यो नियमित खोप सेवा अन्तर्गत ९ महिनादेखि १ वर्ष उमेरभित्र र दादुरा खोप अभियानमा थप डोज लगाउनु पर्दछ । यसर्थ यो अभियानमा आफूलाई पायक पर्ने स्थान र मितिमा ९ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप र जन्मेदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई पोलियो खोप खुवाउन नछुटाऔं । दादुरा रुबेला खोप सुरक्षित र प्रभावकारी साधन हो । खोप पाउनु बाल अधिकार र अवसर हो । तसर्थ खोप अभियानमा सबै सहभागी बनौं, सहभागी बन्न प्रेरित गरौं । बालमृत्यु दर तथा बालरोग दर घटाउने यो राष्ट्रिय दादुरा रुबेला खोप अभियान सफल पारौं ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update