पाल्पा । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गत वर्षको तुलनामा यसको वर्षको पछिल्लो ६ महिनामा १६ दशमलव ५५ प्रतिशतले दुर्घटनामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७७ साउन १ देखि पुस मसान्तसम्म ९ सय १ सवारी दुर्घटना भएका छन् । गत वर्षको साउनदेखि पुस मसान्तसम्म ७ सय ७३ दुर्घटना भएका थिए । सवारी दुर्घटना बढे पनि मानिसको मृत्यु भने कम भएको छ । पछिल्लो छ महिनामा २ सय ५६ को मृत्यु भएको छ भने अघिल्लो वर्षको छ महिनामा २ सय ७६ को मृत्यु भएको थियो । यो वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा पुरुषको संख्या बढी छ । ४१ जना महिलाले ज्यान गुमाउँदा १ सय ९५ पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् ।
कार्यालयको तथ्याड्ढ अनुसार पछिल्लो ६ महिनाको अवधिमा १८ बालक र २ बालिकाले समेत सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८ सय ८१ जना घाइते भएका थिए भने यस वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९ सय २४ जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याड्ढमा उल्लेख गरिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो । यस्तै पछिल्लो ६ महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ सय २८ चालक कारवाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ हजार ६ सय ७३ जना कारवाहीमा परेका थिए । प्रहरीले सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । प्रहरीले सडक सुरक्षा र जनचेतनाका लागि सडकमा डमी ट्राफिक प्रहरीको प्रयोगसमेत गरेको छ । बुटवल, भैरहवा र कपिलवस्तुको बुद्धभूमि चोकमा गरी १० डमी ट्राफिक प्रहरी प्रयोग गरिएको हो ।


