
रामचन्द्र रायमाझी
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् । शनिबार अनेरास्ववियु प्रचण्ड–नेपाल समूह पाल्पाले आयोजना गरेको विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संह–संयोजक तामाङले पछिल्लो समय प्रतिगामी मतियारहरुका कारण मुलुक संकटमा परेकाले उनीहरुलाई गलत्याएर सडकमा ल्याउन अब विद्यार्थी संगठनहरु एक जुट भएर अगाडि बढ्न आग्रह गरेका हुन् । उनले भने ‘जनताले तिरेको करको दुरुपयोग गर्दै सत्तामा बसेर देशलाई नै संकटमा पार्ने काम प्रतिगमनका मतियारहरुबाटै भएकाले तिनीहरुलाई परास्त गर्न अब सबै युवा विद्यार्थीहरु कम्मर कसेर लागौं,जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि बस्ने ठाउँमा बस्न प्रतिगामीका मतियारहरुलाई कुनै अधिकार छैन, त्यसैले उनीहरुलाई गलत्याएर सडकमा ल्याउन अब एक पटक युवा विद्यार्थीहरु आ–आफ्ना ठाउँबाट उठौं ।’
संयोजक तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्र माथि नै कुठराघात गरेकाले अब उनलाई एक महिना भित्रमा अनेरास्ववियुले बालुवाटारबाट बयलगाडा चढाएर बालकोट पुर्याउने बताएका छन् । उनले संविधानको संरक्षक गर्ने, देशको अभिभावका रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि बयलगाडामा चढाएर उनी जहाँ जान चाहकी छन् त्यही ठाउँमा अेरास्ववियुले पुर्याउने घोषण गरिसकेको बताए । तामाङले भने‘ प्रतिगामी तत्वका मतियारहरुको अब दिनगति सुरु भएको छ उनीहरुलाई देशको शासनसत्ता चलाउने, जनताले दिएको करको दुरुपयोग गर्ने अधिकार कसैलाई छैनन् ।’
सरकारले शैक्षिक क्षेत्रको दीर्घकालीन योजना बनाउन नसकेका कारण नेपालका विश्वविद्यालयहरुबाट संयौंको संख्यामा शैक्षिक बेरोजगार उत्पादन भइरहेको सह–संयोजक तामाङले बताए । उनले भने‘ शैक्षिक बेरोजगारी युवाहरुले प्रमाणपत्र सिरानीमा राखेर विदेशी भूमिका जान बाध्य छन्, यस तर्फ सरकारको कुनै योजना र कार्यक्रम नै छैन् ।’ ‘नागरिकको शिक्षा,स्वास्थ्य र रोजगारको ग्यारेन्टी सरकारले लिनुपर्ने हो तर सरकारका प्रमुखहरु नै प्रतिगामीका पक्षमा वकालत गर्न देश दौडाहमा छन्’ तामाङले भने बहुमत प्राप्त सरकारले धेरै काम गर्न सक्थ्यो तर सरकार यसबाट चुक्यो ।’
कार्यक्रममा नेकपाका जिल्ला सचिव राजेन्द्र विक,अनेरास्ववियूका केन्द्रीय सदस्यहरु दीपक देवकोटा, विक्रम राना, नारायण खनाल, नेकपाका जिल्ला सदस्य मोहन गैरे, नेकपा तानसेन नगरका सह–इञ्चार्ज प्रतिक्षा सिंजाली लगायतले मुलुक परिवर्तनका लागि विद्यार्थी संगठनहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले वर्तमान सरकारका प्रमुखहरुकै कारण पुनः देशमा संकट तर्फ गएकाले देश जोगाउने जिम्मेवारी युवा विद्यार्थीहरुमा आएकाले एक जुट भएर लाग्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरे । कार्यक्रममा जिल्लाका सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम अनेरास्ववियूका जिल्ला संयोजक पदम सोमैको अध्यक्षता, जिल्ला सदस्य अनित बस्यालको स्वागत, सीता रास्कोटीको सञ्चालनमा कार्यक्रम भएको थियो ।