
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई सहजिकरण गर्न शिक्षकलाई अभिमुखीकरण तालिम दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका भित्र रहेका ४५ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिने कार्यमुलक अनुसन्धान अभिमुखीकरण तालिम दिएको हो ।
शिक्षण सिकाई क्रियाकलापमा देखा परेका समस्यालाई ब्यवहारिक र अनुसन्धानात्मक ढंगले समाधान गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई तालिम दिइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने, ‘कक्षा शिक्षणका क्रममा देखा पर्ने समस्याहरुलाई सहजै समाधान गरी विद्यार्थीहरुको पठन–पाठनमा सहजता ल्याउन तालिम महत्वपूर्ण रहने छ ।’ कार्यक्रममा गाउँपालिका भित्रका ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले शिक्षणका क्रममा देखा पर्ने समस्याहरुलाई कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी शिक्षकहरुले तालिमबाट आफुहरुलाई कक्षा शिक्षणमा देखा पर्ने समस्या समधानमा टेवा पुग्ने विश्वास लिएका छन् । गाउँपालिकाले शिक्षालाई व्यवहारिक, गुणस्तरी बनाउन दीर्घकालिन योजना नै बनाएर अगाडि बढेको छ । लामो समयसम्म कोभिडका कारण प्रभावित बनेको शिक्षालाई गाउँपालिकाले विभिन्न वैकल्पिक विधिको प्रयोग गरी यस अघि सहज बनाउने काम गरेको थियो ।