
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले यस वर्षको हिउँदे बिदा कटौती गरेको छ । यही पुस २८ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठन–पाठन हुन नसकेकाले यस वर्ष हिउँदे बिदा कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सोही अनुसार सम्पूर्ण विद्यालयहरुलाई कार्य गर्न गराउन अनुरोध गरेको छ । प्रमुख प्रशासकिय अधिकृत राजु नेपालद्वारा जारी सूचनामा कोभिडका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे विदा नगर्ने जनाएको छ । गाउँपालिका भित्रका विद्यालयहरुले हिउँदे बिदा यही पुस २० देखि २३ दिन र वर्षे बिदा असार १५ देखि २२ दिन दिँदै आएको थियो ।
गाउँपालिकाका शिक्षा शाखा संयोजक गजेन्द्र पन्थीले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको बताए । अहिले गाउँपालिका भित्रका सबै विद्यालयहरुले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरी भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् । कोभिड–१९ को कारणले गत २०७६ चैत देखि कुनै परीक्षा र पठाई सञ्चालन भएको थिएन । अवस्था सहज हुँदै गएपछि गाउँपालिकाले भदौ १ गते देखि सम्पूर्ण विद्यालय खोलेको थियो । यस्तै गत चैत ६ गतेदेखि रोकिएका विद्यालयका परीक्षा पनि सञ्चालन भएका छन् । गाउँपालिकाले गृहकार्य मार्फत प्रथम त्रैमासिक परीक्षा जेठमा लिएको थियो भने अर्ध वार्षिक परीक्षा पुस २१ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको हो ।