Shittalpati
अनियमितता रोक्न नैतिक शिक्षा

स्थानीय सरकारसँग गाँसिएका केही प्रसंगका विषयमा चर्चा भईरहँदा स्थानीयतहमा अनियमितता बढ्यो भन्ने चर्चा अहिले अत्यन्त चर्को रुपमा अगाडि आएको छ । अख्तियारले पनि स्थानीय तहका जनप्रतिनिधिहरुको हरेक गतिविधिहरुलाई नजिकबाट हेरिरहेको महशुस भएको छ । हुन त देशमा व्याप्त अनियमितताको विषय महत्वका साथ उठिरहेका बेला स्थानीय सरकार र प्रदेशमा समेत हुने गरेका अनियमितता र त्यसले पार्ने प्रभावका विषयमा गाम्भीर्यता बढेको भन्ने कुरा अगाडि आएको छ । अनियमितता रोक्ने जिम्मेवारी प्राप्त अख्तियारवालाले पनि ठूला भ्रष्टलाई भन्दा पनि साना कर्मचारी र स–साना अनियमितता प्रति बढी ध्यान दिएको, ठूलाबढाहरुका सवालमा राजनैतिक पूर्वाग्रहका आधारमा काम गरेको भन्ने प्रशस्त जनगुनासा र चर्चाबीच देशका विभिन्न स्थानमा आन्दोलन र विरोध पनि भएका छन् ।

रातारात करोडपति हुनेहरुले के काम गरेका छन् । करयोग्य सम्पत्ती हो कि अयोग्य आर्जन माथि आफ्ना क्रियाकलापलाई प्राथमिकीकरणमा राखेका छन्, यस विषयमा अख्तियारको ध्यान जान जरुरी छ । कुनै पनि समस्याको समाधानका लागि केवल कानुनको सहारा लिएर कार्यवाही गर्नु आफैमा उत्तम र गर्नैपर्ने कार्य हो, तर प्रतिशोधका आधारमा राजनैतिक छवी नै बिग्रने गरी न्यायिक निकायबाट अन्याय भयो भने अर्को समस्या उत्पन्न हुने डर थपिन्छ । न्यायमा समान पहुँच र गल्ती गरेकाहरु सबैलाई एउटै कानुनी आधारमा कार्यवाही गर्ने प्रक्रियामा समेत स्वच्छदा हुनुहँुदैन । समान कसुरवालालाई समान न्यायिक कार्यवाहीको दायरामा राख्नुपर्ने हुन्छ ।

सरकार आफैमा अभिभावक र शासन प्रणालीको वागडोर सम्हाल्ने जिम्मा पाएको निकाय हो । त्यसकारण पनि सरकारबाट पक्षपात र पूर्वाग्रहको शैली अवलम्वन गर्नु हुँदैन । त्यसो भयो भने सरकारका क्रियाकलाप माथि प्रश्च चिन्ह उठ्न सक्छन् । राजनैतिक दलहरु बीच देश र जनताप्रतिको भावनामा कुनै फरक अवधारणा आउँनु हुँदैन । विचार, नीति र कार्यक्रम आ–आफ्नै होलान् तर देशको मूलभूत प्रेम, सद्भाव अनि सामाजिक रुपमा अधिकार जन–जनमा आवश्यक छ । त्यसकारण अनियमितता रोक्ने कार्यका लागि केवल कार्यवाही मात्रै भन्दा पनि सामाजिक जीवनमा अनुशासन र निष्पक्षताका विषयलाई शिरोधार्य गर्दै, नैतिक शिक्षाको पनि आवश्यकता छ ।

अब हाम्रो अनियमिततासँगै नैतिक शिक्षामा कमी भएको हो कि भन्ने आशंका पनि त्यतिकै प्रवल देखिएको छ । हामी नैतिक नबन्दासम्म सभ्य र भ्रष्टाचारहरु पनि अन्त्य हुन सक्दैनन्् । त्यसकारण नैतिक शिक्षा आजको आवश्कता हो । अनि मात्र अनियमिततामुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update