
पाल्पा । लुम्बिनी प्रदेशमा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले गत बैशाख १० गतेको निर्णयका आधारमा प्रदेशभर माघ १ र २ गते सार्वजनिक विदा दिइएको कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । प्रदेश सरकारले गत वैशाखा १७ गते पर्व विदा सम्बधी सूचना प्रदेश राजपत्रमा समेत प्रकाशन गरेको थियो ।
प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेको र उनीहरुले माघे संक्रान्तिलाई महान चार्डका रुपमा मनाउने भएकाले दुई दिन पर्व विदा दिइएको प्रदेश सरकारले जनाएको छ । यस्तै केन्द्रको मन्त्रिपरिषद्को बैठकले सेमत माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका थिए । उनले राष्ट्रिय सभालाई सम्बोधन गर्दै माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भने ।