Shittalpati
पाल्पाका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या

कृष्ण पोखेरल
पाल्पा । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने अभाव देखिएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाई संघीय कार्यालय हुँदा स्थानीय तहमा कर्मचारीको अभाव देखिएको हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले पनि विभिन्न बहानामा समायोजन संशोधन गरी पुनःसंघमा नै फर्कर्ने गरेका छन् । २ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा स्विकृत दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जननिर्वाचित प्रतिनिधिहरुले काम काज थालेको साढे तीन वर्ष बित्दा पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी नहुँदा एउटै कर्मचारीले एकभन्दा बढी ठाउँमा जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ । एक कर्मचारीले एकभन्दा बढी ठाउँमा जिम्मेवारी निर्वाह गर्नुपर्दा काम प्रभावकारी हुन नसकेको जिल्लामा गुनासो बढेको छ । स्थानीय तहमा लेखा प्रमुख, लेखापाल, शिक्षा शाखा, कृषि शाखा, पशु शाखा, भौतिक पुर्वाधार शाखाहरुमा आवश्यक कर्मचारी नहुँदा पालिकाहरुको काममा कठिनाई भएको छ । कर्मचारीको अभावमा प्रदेश तथा केन्द्र सरकारबाट स्विकृत भएका कतिपय योजनाहरु समेत कार्यान्वयन हुन सकेका छैनन् । पाल्पाका अधिकांश स्थानीय तहमा वडा सचिवहरु नहुँदा स्थानीय सरकारहरुको सेवा प्रवाहमा अफ्ठारो परेको छ । सिंहदरवारको अधिकार घर घरमा भन्ने नारालाई सार्थकता दिन आवश्यक कर्मचारी नहुँदा पालिकाको मूल्याड्ढनदेखि भौतिक तथा वित्तिय प्रगतीमा समेत असर पुगेको छ । भौतिक पूर्वाधार तर्फका प्राविधिक, अमिन, कृषि र पशु प्राविधिक स्थायी दरबन्दीमा कर्मचारी नआएको तानसेन नगरपालिकाले जनाएको छ । स्थायी दरवन्दीका कर्मचारी नभएपछि पालिकाले केही अस्थायी वा करारका कर्मचारीहरुबाट सेवा दिएका छन् । तानसेन नगरपालिकामा ६० जना कर्मचारीको स्थायी दरबन्दी रहेकोमा २५ जना कर्मचारी खाली रहेका छन् । पटक–पटक लोकसेवा आयोगसँग कर्मचारी माग गरेपनि हालसम्म पदपूर्ति समेत नभएको तानसेन नगर प्रमुख अशोककुमार शाहीले बताए ।

नगरपालिकामा सिनियर डिभिजन इन्जिनियर, लेखा अधिकृत, अधिकृत छैठौ शिक्षा, कृषि अधिकृत, पशु विकास अधिकृत लगायतका मुख्य पदहरु नै खाली रहेको नगर प्रमुख शाहीले बताए । केन्द्रीय लोकसेवा आयोगमा दरबन्दी अनुसार कर्मचारी भर्ना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेपनि सुनुवाइ नभएको सम्बन्धित स्थानीय तहहरु बताउँछन् । रम्भा गाउँपालिकामा आलेप शाखा, कृषि प्राविधिक, प्रशासन शाखामा सुब्बा र वडा सचिवहरु खाली छन् । बगनासकाली गाउँपालिकामा सुगम भएपनि इन्जिनियर, कृषि र पशु प्राविधिक खाली रहेकाले करारका कर्मचारीहरुबाट काम चलाइएको छ । रिब्दीकोट गाउँपालिकामा कृषि, पशु प्राविधिक, योजना प्राविधिक र स्वास्थ्य शाखा गरी ८ जना कर्मचारी कम रहेका छन् । माथागढी गाउँपालिकामा ३६ जना कर्मचारीको दरवन्दीमा स्थायी कर्मचारी ७ जना मात्र काममा खटिएका छन् । माथागढीमा मात्र २९ वटा कर्मचारीको दरवन्दी खाली रहेको छ । शिक्षा शाखा, लेखा शाखा कर्मचारी विहिन छन् । वडा सचिवहरु ८ जना नै छैनन् भने प्रशासन शाखामा पनि कर्मचारी अभाव रहेको गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए । गाउँपालिकामा लेखा कर्मचारी नहँुदा फरक कार्यालयको कर्मचारी आलोपालो गरेर लेखाको काम गर्दै आएको पालिका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update