
पाल्पा । आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाइदैछ ।
सोमबार पाल्पामा क्रियाशिल विभिन्न संघसस्था तथा राजनीतिक दलले विभिन्न कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती मनाउन लागेका छन् । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विश्व हिन्दु महासंघ नेपाल पाल्पा र स्वतन्त्र नागरिक अभियान पाल्पाले तानसेनको शित्तलपाटीमा पृथ्वीनारायण शाह तस्वीरमा माल्यापर्ण गर्ने कार्यक्रमको आयोजना गरिएको महासंघका सचिव कमल राज पौडेलले जानकारी गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि शित्तलपाटीमा कार्यक्रमको आयोजना गरेको छ । राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुंवरले कार्यक्रममा सहभागी हुन जिल्लावासीलाई सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । विसं १७७९ मा गोरखामा जन्मेका पृथ्वी नारायणले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । नेपालको भौगोलिक एकीकरण गरेर महत्वपूर्ण योगदान दिएका शाहको दिव्योपदेश निकै चर्चित र सान्दर्भिक छन् । पृथ्वीनारायण शाहका भनाइ (दिव्योपदेश) लाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । शाह ‘व्रतरत्न माला’ कृतिका लेखक पनि हुन् । नेपालको भौगोलिक एकीकरण गरेर नेपाली भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पहिला पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिइन्थ्यो । तर, अहिले सरकारले कटौती गरेको छ ।