Shittalpati
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पाल्पा, सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् । उनले राष्ट्रिय सभालाई सम्बोधन गर्दै माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,’ ओलीले भने ।

नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको प्रचलित चाडको नाम हो माघे संक्रान्ति । यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि । जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिनलाई सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै मकर संक्रान्ति भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update