
पाल्पा । पछिल्लो समय चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी निकै सक्रिय रुपमा लागेको छ । आफ्नो जिम्मेवारी भित्र पर्ने कार्य मध्ये चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । पुस महिनामा मात्र ट्राफिकले करिब चार दर्जन मोटरसाईकल चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ ।
महाशाखा काठमाडौँले विहीबार चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले एनजेडी÷शित्तलपाटी डटकमलाई जानकारी दिए । उनका अनुसार उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको पाइएको छ ।
उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो । पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले यस पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाई सकेको जनाएको छ ।