Shittalpati
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका भित्रका विद्यालयहरुमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । कोभिडका कारण समयमै सञ्चालन हुन नसकेको परीक्षा मंगलबारदेखि सञ्चालन भएको हो । गाउँपालिकाले सुरक्षाका सम्पूर्ण मापदण्डहरुलाई ध्यानमा राख्दै सबै विद्यालयका कक्षा १० सम्मका परीक्षाहरु सञ्चालन गरेको छ ।

गाउँपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयहरुका शिशुदेखि कक्षा १० सम्मको अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको गाउँपालिकाका शिक्षा संयोजक गजेन्द्र पन्थीले जानकारी दिए । गाउँपालिकाको परीक्षा समितिको बैठकले यहि पौष २१ गतेदेखि १० कक्षासम्मको अर्धवार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरे अनुरुप परीक्षा सञ्चालन भएको छ । परीक्षामा एक हजार ७ सय ६० जना विद्यार्थी सहभागी भएका छन् । गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा एउटै मिति र एउटै समयमा परीक्षा सञ्चालन भएको छ । बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन भएको शिक्षा शाखाका संयोजक पन्थीले बताए । परीक्षा पौष २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा शान्त मर्यादित रुपमा सञ्चालन भइरहेको गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले बताए । गाउँपालिकामा ४१ व्टा सामुदायिक र ४ वटा संस्थागत गरी ४५ वटा विद्यालयहरु रहेका छन् । जसमा सामुदायिक तर्फ मावि ११ वटा, आधारभूत ५ वटा, प्राथामिक विद्यालय २५ वटा रहेका छन् । यस्तै संस्थागततर्फ २ वटा मावि, २ प्रावि रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update