Shittalpati
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाल्पा । जिल्लामा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई पुरुषको ज्यान गएको छ । माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो । रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुखस्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवल नवलपरासीबाट पाल्पा सिद्देश्रुवरको चुनढुङ्गा खानीमा ढुङ्गा लिन जाँदै गरेको लु २ ख २१७१ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए । उनको घटनास्थलमै ज्यान गएको हो । टिपर अनियन्त्रित भई सडकदेखि १ सय ५० मिटर तल खस्न पुगेको थियो । यस्तै माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगाबहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो । उनी शुक्रबार घरदेखि घ्याङसिंङतर्फ जाने क्रममा बाटोदेखि ७ फिट तल खस्न जाँदा घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल ल्याउने क्रममा आइतबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update