Shittalpati
वडामै पुगेर अपाङ्गता परिचय पत्र

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका वडाहरुबाटै अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बञ्चित हुन् नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । शिविर पुस १५ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको थियो । शिविरबाट ४१ जना नागरिकलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

जसमा महिला १५ जना र पुरुष २६ जना रहेको गाउँपालिकाले जनाएको छ । परिचयपत्र पाउने ‘क’ वर्गका ३ जना रहेका छन् । महिला २ जना र पुरुष १ जना छन् । ‘ख’ वर्गका १० जना रहेका छन् । महिला ४ जना र पुरुष ६ जना छन् । ‘ग’ वर्गका २१ जना रहेका छन् । महिला ७ जना र पुरुष १४ जना छन् । ‘घ’ वर्गका ७ जना रहेका छन् । महिला ३ जना र पुरुष ५ जना छन् । योसँगै गाउँपालिकाले अपाता परिचयपत्र २ सय ८३ जना नागरिकलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । परिचयपत्र वितरणको लागि सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी, मेडिकल अधिकृत डा.आषुस रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल, प्रशासन शाखाका नवराज घिमिरे, भिमसेन थापा, प्रकाश थापा लगायतका गाउँपालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update