Shittalpati
सरकार तुरुन्तै चीनबाट नेपाली फर्काऊ

चीन यतिबेला भाइरससँग जुध्दै छ । चिनियाँ सहर वुहान नोबल कोरोना भाइरसका कारण आतंकित छ । त्यो आतंकभित्र नेपाली विद्यार्थी पनि परेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएको डेढ महिना बितिसक्यो । संक्रमणबाट मान्छेको ज्यान जान थालेको पनि कम्तीमा एक महिना भइसक्यो । महामारी फैलिएको क्षेत्रमा रहेका नेपाली नागरिकलाई फर्काउनुपर्छ भन्ने आवाज उठ्न थालेको पनि दुई हप्ता गइसक्यो ।

नेपाल फर्किन चाहन्छु भन्दै नेपालीहरुले चीनमा रहेको नेपाली दूतावासमा आवेदन दिईसकेका छन् । तर त्यहाँ त्रासमा बाँचेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा नेपाल सरकारले कुनै पनि तदारुकता देखाएको छैन । यसबाट जनता प्रति सरकार गैरजिम्मेवार रहेको प्रष्ट हुन्छ । अन्य मुलुकले आफ्ना नागरिक फिर्ता लगिसकेका छन् तर नेपाल सरकार भने मौनता हुनु दुखद् हो । उनीहरू आफ्नो मुलुक फर्कने आशामा भौंतारिरहेका छन् । विद्यार्थीहरूले त्यहाँबाट गुहार माग्दै अनेक सन्देश पठाइरहेका छन् । तर सरकार मुकदर्शक बनेर बसेको छ । नेपालीहरु आफ्नै तरिकाले आउन सक्ने अवस्था छैन, सरकारले उनीहरूका निम्ति पहल गर्नुपर्ने हो । तर सरकारले फिर्ता ल्याउन चाहिरहेको छैन ।

हाम्रो सरकार मानवीय भावना देखाउन चुकेको छ । छिमेकी देश भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सका सरकारले पनि आफ्ना नागरिकलाई आ–आफ्ना देश ल्याइसके । नेपालले भने ल्याउने तयारी रहेको छ भन्ने बाहेक अरु जवाफ नेपाली मिडियाहरुलाई दिन सकिरहेको छैन । स्वदेश फर्कन चाहने नेपालीहरुले नेपाली राजदूत र नेपालका मन्त्रीहरुलाई हारगुहार गरिरहेका छन् । त्यहाँ पिउने पानीको समेत अभाव हुन थालेको छ । अस्पतालमा बेड अपुग भएर चीनमा संक्रमितलाई घरमै उपचार गर्न थालिएको छ । त्यहाँ रहेका नेपालीहरु यतिबेला मानसिक तनावमा छन् । उनीहरुका आमाबुबा र अभिभावकले काठमाडांैमा सरकारसँग रोइ, कराइ गरिसकेका छन् । सरकार भने तयारी भइरहेको गैरजिम्मेवार अभिव्यक्तिहरु दिईरहेको छ । यदि जनताप्रति उत्तरदायी र सरकार रहेको अनुभूति दिलाउने हो भने उनीहरुलाई बस्ने व्यवस्थाको प्रवन्ध मिलाई तुरुन्तै चीनबाट फर्काउ सरकार ।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update