
पाल्पा । शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा ‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी भएको छ । तानसेनको होटल दि ह्वाइटलेकमा एक कार्यक्रमका बिच शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा नामक विचार गोष्ठी भएको हो ।
गोष्ठीमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्यापक डा.शंकरप्रसाद गैरेल कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रसँग सम्बन्धित रहेर विभिन्न पार्टीका नेता, विद्यार्थी नेता, पत्रकार, शिक्षा विज्ञ लगायतले आ—आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पत्रकार मुक्ति न्यौपानेले राजनेताहरुको शैक्षिक योग्यता माथि प्रश्न उठ्नुले शिक्षा र राजनीतिको सम्बन्धलाई पुष्टि गर्ने धारणा राखे ।
त्यस्तै विद्यार्थी नेता पुरन पोखरेलले नेपालमा राजनीतिले शिक्षालाई सहि मार्गदर्शन गर्न नसकेको आरोप लगाए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले विद्यार्थी नेताहरु राजनैतिक संस्कार नभएको र दलको हतियार भएको धारणा राखे । कार्यक्रममा नेपाल शिक्षक महासंघका पाल्पा अध्यक्ष देवीप्रसाद भट्टराईले विद्यालयमा अध्ययनमा जो कमजोर छ त्यस्तै व्यक्तिले जिम्मेवार पद पाउँदा शिक्षाले सहि बाटो समात्न नसकेको धारणा व्यक्त गरे । काँगे्रस जिल्ला सचिव झपेन्द्र गहिरेको समाजवाद उन्मुख शिक्षा नीति हुनुपर्नेमा जोड थियो ।
कार्यक्रममा जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका केन्द्रिय सदस्य डुलबहादुर कुवँर, नेकपाका केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे लगायतले कार्यपत्र माथि आ–आफ्नो धारणा राखेका थिए । जिल्ला समन्वय समिति पाल्पाका संयोजक शालिकराम पाण्डेयको अध्यक्षता भएको कार्यक्रममा माधव अर्याल सञ्चालन रहेको थियो ।