Shittalpati
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै

पाल्पा । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थना लगायत सामान्य कार्यक्रम गर्ने जनाइएको छ । यस वर्ष कोभिडका कारण विगतमा जस्तो भव्य रुपमा कार्यक्रमहरु भने नहुने पाल्पामा सञ्चालित चर्चाहरु बताउँछन् ।

उनीहरुका अनुसार विश्वभर फैलिरहेको कोरोना महामारी अझै पनि कायमै रहेकाले विशेष स्वास्थ्य मापदण्ड अपनाएर सामान्य औचारिक कार्यक्रहरु मात्र गरी पर्वलाई निरन्तरता दिईने छ । क्रिसमस डेका दिनदेखि लगातार १२ दिनसम्म क्रिसमस टाइमका रुपमा विशेष उत्सव गरिन्छ । जन्मोत्सवको अवसरमा चर्चहरुमा भेला भएर विश्वभरिका क्रिस्चियन धर्मावलम्बीले मुख्य चाडका रुपमा क्रिसमस डे मनाउँदछन् । प्राचीन रोममा इसापूर्व ३ सय ५४ देखि क्रिसमस डे मनाउन थालिएको पाइन्छ । नेपालमा क्रिस्चियन धर्मको चार सय वर्षदेखिको इतिहास रहेकोमा २०६२/६३ को आन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र बनेसँगै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको इसाई धर्मावलम्बीहरू बताउँछन् । यस दिन क्रिस्चियनहरुले शुद्ध हृदयले प्रभु येशुका प्रमुख वचनहरु बाचन गरी प्रार्थना गर्ने गर्दछन् । आज क्रिसमस ट्रिलाई रङ्गाएर बत्ती र खेलौनाहरु सहितले सजाएर झकिझकाउ पार्ने गरिन्छ । आज पाल्पामा विशेष कार्यक्रमको आयोजना गरिदैछ । बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरुमा भेला भएर क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउँदै छन् । क्रिसमसका उपलक्ष्यमा जिल्लाका तानसेन चर्च, विलिर्भस चर्च र हेब्रोन चर्च लगायतका सय भन्दा धेरै चर्चहरुमा विशेष कार्यक्रम हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update