Shittalpati
‘विद्यार्थीहरुको  सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’

पाल्पा । जिल्ला समन्य समिति पाल्पाका कार्यवाहक सभापति मीरा मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै पक्ष एक जुट हुनुपर्ने बताएकी छन् । रुम टु रिड नेपाल र बेस नेपालले भर्चुअलमार्फत आयोजना गरेको साक्षरता कार्यक्रम हस्तान्तरणमा बोल्दै मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्नका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार, गैर सरकारी संस्था र सरोकारवालाहरु एक जुट हुनुपर्ने बताएकी हुन् ।

साक्षरता कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी र कक्षाकोठाको शैक्षिक वातावरणलाई नजिकबाट हेर्ने अवसर प्राप्त गरेको भन्दै उनले विद्यार्थीहरुको सिकाई उपलब्धीलाई थप प्रभाकारी बनाउन सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिईन् । सभापति मरासीनीले रुम टु रिड नेपाल र बेस नेपालले सामुदायिक विद्यालयमा सञ्चालन गरेको साक्षरता कार्यक्रम अन्र्तगत कक्षा शिक्षण विधि तथा पुस्तकालय व्यवस्थापनले साना विद्यार्थीहरुको पढ्ने सीप र बानीको विकाससँगै शिक्षकहरुलाई समेत जिम्मेवार बनाएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेले रुम टु रिड नेपाल र बेस नेपालले जिल्ला स्थित सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रमुख पौडेलले विद्यालयमा भएका गतिविधिहरुलाई निरन्तरता दिन र कार्यक्रमबाट सिकेका सीपहरुलाई थप गरी दिगो रुपमा लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा तिनाउँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख निशा पाण्डेय, रुम टु रिड नेपाल तनहुँ फिल्ड कार्यलयका वरिष्ठ फिल्ड व्यवस्थापक सुशील तिमिल्सिना लगायतले आ आफ्ना धारणा राखेका थिए ।

आदर्श माध्यमिक विद्यालय रिब्दीकोटका प्रधानाध्यापक निर्मल खनाल, सिर्जना आधारभुत विद्यालय तिनाहुँका प्रधानाध्यापक भद्र घिमिरे, लक्ष्मी माध्यमिक विद्यालय तानसेनका व्यवस्थापन समितिका अध्यक्ष विन्दु रावल लगायतले साक्षरता कार्यक्रमले विद्यार्थीहरुको सिकाई उपलब्धी वृद्धिमा सहयोग पुर्‍याएको भन्दै आगामी दिनमा विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले साक्षरता कार्यक्रमका उपलब्धी र आगामी योजना र अपेक्षाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा २५ विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । बेस नेपालका अध्यक्ष छविलाल सुवेदीको सभापतित्व, बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update