
पाल्पा । नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्ने पार्टीको पक्षमा विश्वहिन्दु महासंघ रहेको महासंघले जनाएको छ । विभिन्न राजनितिक दलका कारण आफुहरु संकटमा पर्ने अवस्था आएकाले अब जुन पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्छ उही पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने महासंघले जनाएको हो ।
तानसेनमा भएको विश्वहिन्दु महासंघ पाल्पाको बैठकमा बोल्ने अधिकांस व्यक्तिहरुले आफुहरु हिन्दु राष्ट्रको पक्षमा अडिग रहेको बताएका छन् । बैंठकमा महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खनालले ऐले विश्वहिन्दु महासंघ सँकटमा परेको यस जटिल परिस्थिमा हामीले कुनै राजनितिक पार्टीलाई अगाल्नु भन्दा पनि जसले नेपाललाई हिन्दुराष्ट्र बनाउन पहल गर्छ त्यसैसँगको सहकार्यमा अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । उनले भने‘हामी हिन्दुधर्म रक्षाका लागि एउटा माहोल सिर्जना गरौं भनी आन्दोलनमा होमीन खोज्छौ उता केही राजनितिक व्यक्तिले राजतन्त्र जिन्दावाद भन्दै हिड्छन् त्यसबेला हामी स्तब्ध हुन बाध्य हुने गर्दछौ तर हाम्रो चाहना भनेको विशुद्ध रुपमा हिन्दुधर्म सापेक्ष नेपाल बनाउनु हो ।’
महासंघका केन्द्रीय सचिव ददिराम बस्यालले यहि पौष ११ गतेको केन्द्रीय समितिको बंैठकले आगामी कार्यक्रमको रुपरेखा तयार पार्ने र त्यसका लागि सम्पूर्ण हिन्दु धर्मालम्बिहरुलाई धर्मरक्षार्थ आन्दोलनमा होमिन तयार हुन आग्रह गरे । बैठकमा केन्द्रीय सदस्य विष्णु बस्याल,शंकर गिरी, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष जय प्रकाश उप्रेती, सल्लाहाकार धर्मचन्द्र नेपाल, रेवन्त बहादुर विष्ट, महासंघ बगनासकाली गाउँपालिकाका उपाध्यक्ष पम्फा बस्याल, शिवालयका सरक्षक यादव गिरी लगायतको उपस्थिती रहेको जिल्ला सदस्य जयराम सापकोटाले जानकारी दिए । महासंघका जिल्ला अध्यक्ष रामहरी अर्यालको सभापतित्व, जिल्ला सचिव कमल पौडेलको सञ्चालनमा बैंठक चलेको थियो ।