Shittalpati
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

पाल्पा । अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ ।

आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्य यो दिवसको रहेको छ । विशेष गरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भिœयाएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आय श्रोतमा बढोत्तरी भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update