Shittalpati
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण

पाल्पा । नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको छ । माथागढी गाउँपालिका वडा ३ सराईमा एक कार्यक्रमका बिच नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको हो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक शोवाकान्त न्यौपानेले कोरोना महामारीका बिच पनि स्वास्थ्यकर्मीहरुले निरन्तर सेवा प्रवाह गरिरहेको बताए । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक न्यौपानेले जिल्लामा १६ हजार १ सय ९४ महिलाहरुको विविध समस्या परीक्षण तथा आवश्यक सरसल्लाह र औषधोपचार गरिएको बताए । कसेनी सामुदायिक क्लीनिककी मुना चिदीले कार्यालयमा सुत्केरी फोहोर बिसर्जन गर्ने स्थान नहुँदा समस्या भइरहेको बताइन् । उनले सुत्केरी गराउँदा रातिको समयमा बस्ने कोठाको अभाव भएका कारण घर जानुपर्ने भएको हुँदा कर्मचारी उत्प्रेरित बन्न नसकेको बताइन् । स्थानीय भगवती आलेले स्वयंसेविका गाउँमा नबस्दा गाउँमा पर्ने समस्याका कारण धेरै महिला तथा बालबालिकाको ज्यान खतरामा पर्ने गरेको बताइन् ।

सामाजिक मनोपरामर्शकर्ता माया बस्यालले कर्मचारीले पनि रातदिन नभनी काम गरेको तर भौगोलिक विकटताका कारण समस्या हुने गरेको बताइन् । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि टीकाराम रानाले जनताको मनोभावना अनुसारको परिवार योजना सम्बन्धी सेवा आवश्यक भएको बताए । नेकपाका प्रतिनिधि जगतबहादुर थापाले देशमा ठूला–ठूला परिवर्तन भइरहँदा महिलाको समस्यामा पनि सोही अनुपातको परिवर्तनको जरुरी रहेको बताए । रुप्से स्वास्थ्य चौकीका प्रमुख यमबहादुर चिदीले नेपाल सरकारको परिवार नियोजनमा राष्ट्रिय लगानी बढाउने प्रतिवद्धतालाई सुनिश्चित गर्न सार्वजनिक परीक्षणले टेवा पुग्ने बताए । माथागढी गाउँपालिकाको समन्वय तथा पिपुल्स क्रियशनको सहजीकरणमा भएको कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपनी संघ पाल्पाका कार्यसमिति सदस्यता पत्रकार माधव अर्यालले सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई गर्ने सेवा सुविधाको यथार्थ चित्रण गर्न सामाजिक परीक्षण गरिएको बताए । सामाजिक परीक्षणमा उठेका गुनासो सम्बोधन गर्दै शाखा प्रमुख शोभाकान्त न्यौपाने र वडा अध्यक्ष दिपक थापाले छिट्टै गुनासो सम्बोधन गर्ने र योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update