
पाल्पा । भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अनलाइन अभिमुखीकरण तालिम भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि ६ दिने अनलाइन अभिमुखीकरण तालिम भएको हो ।
कोभिड १९ का कारण जिल्लाका विद्यालयहरु लामो समयको बन्दपछि खुलेको अवस्थामा विद्यार्थीहरुको शैक्षिकक्षती कम गर्न कक्षाकोठामा अपनाइने शिक्षण रणनीति, अभ्यास पुस्तिकाका विषयमा अभिमुखीकरण गरिएको थियो । तालिममा विद्यालर्थीहरुको सिकाई उपलब्धी खेर जान नदिनका लागि रुम टु रिडले विकास गरेको अभ्यास पुस्तिका कक्षा कोठामा कार्यान्वयन र अभ्यासका विषयमा जानकारी गरिएको थियो ।
रुम टु रिड नेपालले बालकालिकाको सिकाईलाई सहयोग गर्न अभ्यास पुस्तिका समेत उपलब्ध गराएको साथै अभिमुखीकरण तालिमले कक्षाकोठामा आगामी शिक्षण रणनीति र अभ्यास पुस्तिकाको प्रयोगको सीप समेत लिएकाले सहज हुने सहभागी आदर्श माध्यमिक विद्यालय रिब्दीकोटका भाषा शिक्षक इन्दिरा नेपालले बताइन् ।
तालिम समापन कार्यक्रममा बोल्दै रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले विश्वव्यापी फैलिएको कोभिड १९ ले बालबालिकाको पठन पाठनमा नराम्रो असर पुगेकाले शैक्षिक क्षतीलाई कम गर्न पाठ्यक्रम संक्षप्तीकरण गरिएको र प्रभाकारी शिक्षण गर्न शिक्षकहरुलाई अभिमुखीकरणले सहयोग गर्ने उनले बताए ।
बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले जिल्लाका विभिन्न स्थानबाट शिक्षकहरु अनलाइन तालिममा सक्रिय सहभागी भएकोमा धन्यवाद व्यक्त गर्दै सिकेका सीपहरुलाई कक्षाकोठामा प्रयोग गर्न शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले बालबालिकाको शिक्षण सिकाईसंगै मनोवैज्ञानिक त्रासलाई हटाउन शिक्षकशिक्षिकाहरुले सहजीकरण गर्नु पर्ने बताए । अहिले बालबालिका र अभिभावकहरुलाई कोभिडका कारण मनोविज्ञान नाकारात्मक असर परेको भन्दै त्यसमा शिक्षकहरुले मात्रै भूमिका निर्वाह गर्न सक्ने बताए । प्रमुख पौडेलले शिक्षकहरुले पाठ्यक्रमका उद्देश्य पुरा गर्नु त छदैछ, बालबालिका र अभिभावकलाई अहिलेको भयबाट मुक्त गराउन जरुरी रहेको बताए । तालिममा जिल्लाका ८६ भााषा शिक्षकहरुको सहभागिता रहेको थियो ।