
पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।
होमस्टे एशोसियसनका केन्द्रीय उपाध्यक्ष तथा होराइजन होमस्टेका सञ्चालक धनीश्वर बस्यालको पहलमा सहयोग प्राप्त भएको हो । अघिल्लो वर्ष थम्सनकै सहयोगमा विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको थियो भने बाँकी ७७ जना विद्यार्थीहरुलाई अहिले वितरण गरिएको हो । विद्यालयका विद्यार्थीहरुलाई होमस्टे व्यवसायी धनीश्वर बस्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेश्मीराज गैरे, विद्यालयकी प्रधानाध्यापक कल्पनाकुमारी भुसाल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना लगायतले स्वीटर वितरण गरेका थिए । कार्यक्रममा होमस्टे व्यवसायी बस्यालले अमेरिकाबाट नेपाल घुम्न आएका थम्सनले आफ्नो देश फर्केर पनि पाल्पाको गाउँका यी बालबालिकाहरुलाई सम्झेर सहयोग पठाउनु ज्यादै सराहनीय कार्य भएको बताए । उनले उक्त सहयोगबाट विद्यार्थीहरुमा अझ मेहनत गरेर पढ्ने जागर बढ्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेश्मीराज गैरेले विदेशमा रहेर पनि गरिब तथा बिपन्न समुदायका बालबालिकाहरुलाई सम्झेर सहयोग पठाउने सहयोगी व्यक्तित्व थम्सनप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । कार्यक्रमकै अवसरमा सहभागी सबै बिद्यार्थीहरुलाई थम्सनकै सहयोगमा दिवा खाजाको समेत व्यवस्था गरिएको थियो । करिव देढ वर्ष अघि नेपाल घुम्न आएका थम्सन पाल्पा पनि आएका थिए र सोही क्रममा उनले पाल्पाको कुनै विद्यालयमा पुग्न इच्छा व्यक्त गरेपछि होमस्टे व्यवसायी धनीश्वर बस्यालसँगै उनी खानीगाउँ माविमा पुगेका थिए । सोही क्रममा विद्यालय र विद्यार्थीहरुको आर्थिक सामाजिक अवस्थाबारे समेत थम्सनले जानकारी लिएका थिए ।