
पाल्पा । विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बिहीबार विविध कार्यक्रम गरी मनाइदैछ ।
लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् । विगत दशवर्षे सशस्त्र युद्वको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरण जस्ता मानव अधिकार हनन्का घटनाहरु भएका थिए । युद्वका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्ने भनिए पनि गठन हुन सकेका छैनन् । द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो । मुलुक संक्रमणकालमा गुज्रिनुका साथै नयाँ संविधान जारी हुन नसक्दा मानव अधिकारको अवस्था जोखिमपूर्ण रहेको अधिकारकर्मीहरु बताउँछन् ।
नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितालाई जोड दिएको छ । यसैबीच महिला माथि हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि आजै सकिँदै छ । गत नोभेम्बर २५ देखि शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज सकिन लागेको हो ।