
पाल्पा । भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र जिल्ला शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि छ दिने अनलाइन अभिमुखीकारण तालिम सोमबारदेखि सुरु भएको हो ।
जिल्लामा सञ्चालन भएको साक्षरता कार्यक्रम अन्र्तगत विद्यालयका शिक्षकहरुका लागि अनलाइन अभिमूखीकरण सञ्चालन भएको बेस नेपालले जनाएको छ । लामो समय विद्यालय बन्द भएको अवस्थामा शिक्षण क्रियाकलाप कहाँबाट र कसरी सुरु गर्ने भन्ने अलमल रहेका बेला अभिमूखीकरण तालिम र अभ्यास पुस्तिकाले सहज हुने तालिममा सहभागीलेहरुले बताएका छन् । तालिम समय सान्दर्भिक भएको कार्यक्रममा सहभागी आदर्श माध्यमिक विद्यालय रिब्दीकोटका भाषा शिक्षक इन्दिरा नेपालले बताइन् । उनले भनिन् ‘शैक्षिक शत्र सकिन लागेको अवस्थामा पढाई सुरु भएकाले पनि अभ्यास पुस्तिकाको प्रयोगले विद्यार्थीहरुको सिकाई उपलब्धिलाई महत्वपूर्ण टेवा पुग्दछ ।’ अभिमूखीकरण तालिममा बोल्दै रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले बालबालिकाको पठन–पाठनमा नराम्रो असर पुगेकाले शैक्षिक क्षतिलाई कम गर्न पाठ्यक्रम संक्षप्तीकरण गरिएको बताए । प्रभाकारी शिक्षण गर्न शिक्षकहरुलाई अभिमुखीकरणले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । अभिभावकहरुले समेत घरमा विद्यार्थीहरुलाई सहयोग गर्न सक्ने गरी अभ्यास पुस्तिका निर्माण गरिएको उनले बताए । जिल्लाका ८६ भाषा शिक्षकहरुको सहभागीता रहेको तालिमको सहजिकरण रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठ र वेस नेपालका साक्षरता कार्यक्रम संयोजक प्रकाश पाण्डेले गरेका छन् ।