
पाल्पा । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला (अनेम) संघ पाल्पाले महिला हिंसा विरुद्व सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत १५ बुँदे ज्ञपानपत्र सरकारलाई बुझाएको हो । संघका अध्यक्ष उमा सिंजालीद्वारा हस्ताक्षर ज्ञापनपत्रमा महिला हिंसाका घटनालाई फैसला गर्न पारिवारिक अदालतको गठन गर्नुपर्ने र त्यसमा महिला न्यायाधीशको व्यवस्था हुनुपर्ने माग गरिएको छ । यस्तै हिंसामा संलग्न अपराधीलाई कडा भन्दा कडा सजाय हुनुुपर्ने, पीडितलाई उचित क्षतीपूर्ती र छिटो न्याय दिलाउनुपर्ने, महिला हिंसाका घटनालाई दर्ता गर्ने वा नगर्ने भन्ने प्रहरी प्रशासनको स्वविवेकीय अधिकारको अन्त्य गरी घटनालाई दर्ता गर्ने बाध्यकारी कानुन ल्याउनुपर्ने माग गरिएको छ ।
पीडितलाई कुनै प्रलोभन वा दवाबमा पारी मेलमिलाप गराउनेमाथि कानुनी कारवाही हुनुपर्ने, निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने अपराधीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने, बालविवाहको अन्त्य हुनुपर्ने, बोक्सी छाउपडी दाइजोजस्ता कुसंस्कारको अन्त्य हुनुपर्ने, लैंगिक हिंसाको अन्त्य हुनुपर्ने, महिला हिंसा र प्रजनन् स्वास्थ्यसम्बन्धी विषयहरु पाठ्यक्रममा समावेश गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने महिलालाई तालिम, बीमा र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, जातीय छुवाछुतको अन्त्य हुनपर्ने, महिलामाथि एसिड प्रहार गर्ने अपराधीविरुद्ध गरिएको कडा कानुनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, महिलाको पक्षमा भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वय हुनुपर्ने लगायतका माग सहित ज्ञापन पत्र बुझाइएको संघका केन्द्रीय सदस्य नरमति सिंजालीले बताइन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले महिला हिंसाका विरुद्व आफू पनि हातेमालो गर्न तयार रहेको र ज्ञापन पत्र जस्ताको त्यस्तै सम्बन्धित निकायमा पढाइदिने बताए ।