Shittalpati
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण

बुटवल । के तपाई केही उद्यम गर्न चाहनुहुन्छ । यदि चाहानुहुन्छ भने लुम्बिनी प्रदेश सरकारले तपाईलाई ब्याज अनुदानमा ऋण दिने भएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोजगार गुमाएका र नयाँ उद्यमी बन्न चाहनेहरुका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको हो ।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालयसँग सम्झौता गरी अनुदानग्राहीलाई ब्याज अनुदानमा ऋण प्रवाह गर्न लागेको मन्त्रालयले जनाएको छ । उक्त ऋण प्रवाहका लागि मन्त्रालय र बैंक बिच सम्झौता भएको छ । यो कार्यक्रम लागू भएपछि व्यापारिक घाटा घट्नुका साथै युवालाई विदेश पलायन हुनबाट रोक्न सकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बताए । उनले प्रदेश सरकारले अघि सारेको ‘सुखी जनता, समृद्ध प्रदेश’को नारालाई यो कार्यक्रमबाट पनि कार्यन्वयनको पाटोमा लैजाने बताए । यस सम्झौताबाट वैदेशिक रोजगारबाट फर्किएका, दलित महिला, द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत तथा अल्पसंख्यकहरुले ब्याज अनुदानमा ऋृण लिन सक्ने र २ वर्ष ब्याज नलाग्ने नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पाले बताए । बैंकले यसअघि रुपन्देहीको तिलोत्तमा, पाल्पाको तानसेन लगायतका लुम्बिनी प्रदेशका १२ स्थानीय तहसँग समेत यसप्रकारको ब्याज अनुदानमा ऋण प्रवाह गर्दै आएको छ । प्रति उद्यमी न्यूनतम ३ लाखदेखि अधिकत्तम १० लाखसम्म ऋण लिन सकिनेछ । उद्यमीको ३ वर्षसम्म लाग्ने ब्याज मन्त्रालयले तिर्ने छ । त्यसका लागि मन्त्रालयले १० करोडको उद्यम विकास कोष बनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update