Shittalpati
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति

पाल्पा । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । ब्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको बिषयलाई लिएर नेपाली काँग्रेस र राष्ट्रिय युवासँघबिच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा तोडेको भन्दै पौडेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पौडेलले आफ्नो पक्राउको जानकारी ट्विट मार्फत दिंदै पक्राउको र प्रहरी दमनको बिरोध गरेका छन् । ट्विटमा उनले भने ‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

पौडेललाई पक्राउ गरेको घटनाप्रति नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले विज्ञप्ति सार्वजनिक गर्दै नेता रामचन्द्र पौडेलप्रतिको दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन् । गुल्मी नेपाली काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले पनि विज्ञप्ति सार्वजनिक गर्दै घटना आपत्तिजनक एवं निन्दनीय भएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update