Shittalpati
गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका नै यतिखेर शोकमग्न बनेको छ । ईस्मा ४ हुलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परी हुलका ६ जनाको ज्यान गएपछि स्थानीय तह नै शोकामा डुबेको हो । स्थानीय सरकारले आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय गरेको छ । दुर्घटनामा परेर घाइते भएका २ जनाको स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । कक्षा १२ को परीक्षा भने यथावत रुपमा सञ्चालन गरिने छ ।

जिप दुर्घटनामा ईश्मा ४ हुलका ६५ वर्षीय डम्मर बहादुर हितान, उनको दिदी ८० वर्षीया सुन्दरी थापा, सोही ठाउँका ३३ वर्षीय शिब बहादुर दर्लामी, उनका भाइ ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र १९ वर्षीय फर्सुराम थापाको मृत्यु भएको थियो । मृतक शिब र धनबहादुर नेपाली सेनाका जवान रहेका छन् । जिपमा चालक सहित नौ जना सवार रहेका थिए । उनीहरु मध्ये मृतक शिबको श्रीमति २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल हितान घाईते रहेका छन् । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट ४ सय मिटर तल खसेको थियो । चालक बुद्ध बस्नेत भने सकुशल रहेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update