
रामचन्द्र रायमाझी
पाल्पा । कोरोना महामारीका बीच आजदेखि देशभर कक्षा १२ को परीक्षा हुँदै छ । कोभिड–१९ का कारण स्थगित परीक्षा आजविहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो । देशका अधिकांश स्थानीय तहहरुमा विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिदा वैकल्पिक कक्षासमेत स्थगन गरिएका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्न लागेको छ । स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्न लागिएको परीक्षा बोर्डले जनाएको छ । नेपालमा संक्रमणको दर बढ्दै गएकाले परीक्षा हुने नहुने अन्यौल भइरहेका बेला बोर्डले चुनौती मोलैर परीक्षा सञ्चालन गर्न लागेको हो । बोर्डले शिक्षा, स्वास्थ्य, गृह र संघीय मामिला मन्त्रालय मार्फत स्वास्थ्य मापदण्ड पालना गराउन जिल्ला, स्थानीय तह र परीक्षा केन्द्रसम्म परिपत्र गसिकेको छ । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगी सकेका छन् ।
यस वर्ष विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय (होमसेन्टर)मा परीक्षा दिन पाउने व्यवस्था रहेको छ । करिब १२ हजार विद्यार्थीले मात्र आफूले पढेको भन्दा अन्यत्रको घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाड्ढको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बोर्डले जनाएको छ । परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदै छन् । ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । पाल्पामा पनि सबै स्थानीय तहले परीक्षालाई थप मर्यादित, सुरक्षित बनाउनतर्फ विशेष सजगता अपनाएका छन् । आजदेखि सुरु हुने परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेको हो । मन्त्रालयले परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन सबै विद्यार्थीहरुमा अपिल गरेको छ ।
मन्त्रालयले परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड संक्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ । केन्द्रमा हेल्थ डेस्क अनिवार्य सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुने छ । विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्नेछ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई बोर्डले निर्देशन दिइसकेको छ । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएर नभएको अनुगमन गर्ने छन् । परीक्षा सम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ । दुई/दुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने छ । आजदेखि सुरु हुने परीक्षा मंसिर १६ मा सकिनेछ ।