Shittalpati
कलाकार ब्रह्मशेखर एक स्मृति

पिता ज्योतिशेखर बज्राचार्य र माता कुमारी बज्राचार्यको माहिला सुपुत्र ब्रह्मशेखर बज्राचार्यको जन्म वि.सं. १९८९ साल मार्ग महिना बाला चर्तुदशीका दिन पाल्पा तानसेनको भिमसेनटोलमा भएको हो । तत्कालिन समयमा पाल्पामा स्कुल नहुदाँ मणिध्वज मास्केको घरमा सामान्य अक्षर चिनेपछि १२/१३ वर्षको उमेरदेखिनै नाँचगान र भजन किर्तनमा उनको झुकाव हुदैँ गयो । सानैदेखि नेपाली, नेवारी र हिन्दी गीतहरु गाउने र नृत्य समेत गर्दै हिडेका ब्रह्मशेखर लाई रणबहादुर थापा, प्राणप्रसाद उदय, बदले मास्टर, लाले जोकर, बुद्धरत्न शाक्य लगायतका दौतरीहरुले साथ दिने गर्दथे । आठ दिनसम्म चल्ने गाईजात्रा महोत्सवमा उनीहरुले कला संस्कृतिको जर्गेना सहित भरपूर मनोरञ्जन प्रदान गर्दथे ।

राणाशासनको अन्त्यसंगै वि.सं. २००७ सालमा प्रजातन्त्र आयो । वि.सं.२००८ सालमा तोरण शमसेर पाल्पा आउँदा ब्रह्मशेखर ले नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गरे । तोरण शमसेर खुसी भई उनलाई काठमाडौं लिएर गए । काठमाडौंमा उनले शास्त्रीय संगीत सिक्ने अवसर पाए । आर्मी हेड क्वार्टरमा उनको आवतजावत बढ्दै गयो । वि.सं. २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेक हुदाँ समेत उनले नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गरे । त्यसपछि राजा महेन्द्रको देशव्यापी भ्रमणको क्रममा ब्रह्मशेखर पनि ठाउँ–ठाउँमा नाँच्दै र गाउँदैै राजा महेन्द्रसंगै हिड्ने मौका पाए । वि.सं. २०१६ सालमा राजा महेन्द्र पाल्पा सवारी हुँदा बजार परिक्रमा गर्ने क्रममा भिमसेन टोलमा रहेको ब्रह्मशेखरको घर सानो देखेर राजा महेन्द्रले ठूलो घर बनाउन भनि एक लाख पचास हजार रुपैयाँ इनाम दिएका थिए । राजा महेन्द्र स्वर्गीय भएपछि उनी पाल्पामै फर्किएर बुढो बाबुको आज्ञानुसार पुरोहित काम गर्दै गए ।

यहि क्रममा उनले पुरोहित, सहायक पुरोहित, मूल पुरोहित, सल्लाकार भएर थुप्रै नै धार्मिक कामकाजहरु गर्दै आए । उनले पुराना संस्कृति र सम्पदाहरुलाई संरक्षण गर्नुका साथै तानसेनका पुराना भजनहरुलाई लोप हुन दिनु हुँदैन भनेर युवा पुस्ताहरुलाई साथमा लिएर तानसेन भजन संरक्षण समिति नामको संस्था आफ्नै नेतृत्वमा खोले । भजन संरक्षण समितिले हरेक शनिबार बिहान भगवती मन्दिरको प्राङ्गण भजन गर्ने प्रथा बसालेको छ । यस्का साथै श्रीपञ्चमी, कोजागत, पूर्णिमा, नवदुर्गा, चर्तुमास लगायत विशेष पर्वोत्सवको दिनहरुमा विशेष भजन किर्तन गराउनुका साथै सहयोग संकलन, अक्षयकोष स्थापना, वनभोज तथा सम्मान कार्यक्रमहरुको आयोजना गर्दै पाल्पा तानसेनको इतिहास र संस्कृतिलाई महत्वका साथ संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा आफूलाई निरन्तर सर्मपित गराउदैँ आइरहे । पाल्पा तानसेनकोे हिन्दु तथा बौद्ध सम्बन्धी संस्कार र संस्कृतिहरुलाई संरक्षणका साथ व्यापिकरण गर्दै गए । राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र गणतन्त्रकाल सबै देखेका भोगेका व्यहोरेका ब्रह्मशेखरको सोधखोज गर्ने हो भने उनी आफैँ एक सिंगो इतिहास हुन् । यो इतिहासको खोजीनीति र लेखाजोखा भोलिका दिनमा पक्कै नै हुने छ ।

 

उनलाई इतिहास र संस्कृतिको संरक्षणमा पुर्‍याउँदै आएको योगदानको कदर स्वरुप स्थानीय, क्षेत्रीय एक राष्ट्रिय रुपमै संस्थाहरुले पुरस्कृत, सम्मानित एवं अभिनन्दित गरिसकेका छन् । आफै गीत तथा भजनहरु समेत बनाएर विभिन्न मेला समारोह कन्सर्टहरुमा गाउने, नाँच्ने, उत्कृष्ट तबला बचाउने ब्रह्मशेखर ८९ वर्षको उमेरमा पनि निकै फूर्तिला, जागरिला र १६/१७ वर्षे युवा जोशका देखिन्थे । ‘जीवनमा ज्वरो भन्ने कुरा आएको थाहा छैन’ भन्दै सदैव नित्य कर्ममा हिडिरहने ब्रह्मशेखर लाई यसपालीको ज्यादै चिसो मौसमले झ्याप्पै समाइहाल्यो र निमोनियाको कारण युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारकै क्रममा वि.सं.२०७६/१०/२०गते सोमबारका दिन विहान ८९ वर्षको उमेरमा सुपुत्र द्वय मोहनशेखर बज्राचार्य, विनोदशेखर बज्राचार्य, बुहारीहरु मनमाया र अञ्जुला बज्राचार्य, नातीनातीनीहरु, आफन्तजन एवं शुभचिन्तकहरु सबैलाई शोेकाकुल बनाई छाडेर ब्रह्मशेखर बज्राचार्य सधैका लागि यस धर्तिबाट विदा भएर परमात्मामा विलिन भएर गए । उनको ब्रहमलीनले पाल्पा तानसेनमा एउटा इतिहासको अन्त्य भएको छ ।

 

ऐतिहासिक पात्र, अग्रज कलाकार, उत्कृष्ट संगीतकार, अविश्रान्त धार्मिक यात्री, इतिहास र संस्कृतिका संरक्षक, असल अभिभावक, प्रेरणाको स्रोत, पाल्पा साहित्य समाजका शुभचिन्तक आदरणीय बुवा ब्रह्मशेखर बज्राचार्यको स्वर्गारोहणले मर्माहत भई शोकले हामी अत्यन्त स्तब्ध भएका छौं । यस दुखद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त समस्त बज्राचार्य परिवारलाई धैर्यधारणा गर्न सक्ने क्षमता ईश्वरले प्रदान गरुन् भनी हार्दिक श्रद्धाञ्जली/समवेदना प्रकट गर्दछु । पाल्पा साहित्य समाजका वर्तमान संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षकालमा हामीलाई ब्रह्मशेखर बज्राचार्यले अतिथि/ विशिष्ट अतिथि/प्रमुख अतिथि समेत भई प्रदान गर्नुभएको न्यानो माया र आर्शिवचनहरु हामीले सम्झिरहेका छौं । यसवर्ष नवदुर्गा भरि यो पक्तिंकारले पनि भगवती मन्दिरमा गई नित्य भजन कार्यक्रममा सहभागिता जनाएको थियो ।

त्यस पछिका दिनमा आफ्नै कार्यव्यस्तताले कुनै पनि दिन तानसेन भजन संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा जान सकिन । जहाँ भेटे पनि उहाँले ‘तपाई किन नआएको शनिबार आउनुहोस् हैँ’ भन्नु हुन्थ्यो, मैले ‘हुन्छ म आउँछु’ भन्थे तर म जान पाइन । अहिले थकथक लागेको छ । उहाँ जीवितनै छँदा भजनमा जान नपाएता पनि आगामी दिनमा उहाँको भजन मण्डलीमा सहभागिता जनाउने अवसर पक्कै पनि समयले दिनेछ । इतिहास कला संस्कृतिको संरक्षणमा निरन्तर खटिरहेका अथक योद्वा, मृदुभाषी स्पष्टवक्ता, गायककार संगीतकार, गीतकार, कुशल तवलावादक, तानसेनको विकास प्रति चिन्तित अगुवा, खरो लेखक, बौद्धमार्गी भएर पनि सबै धर्म मार्गीहरुप्रति सद्भाव राख्ने, सबैको कुशल मंगल चाहने व्यक्तित्व, संगठन, समन्वय र नेतृत्वकर्ता हामी सबैका पुरोहित, वरिष्ठ कलाकार ब्रह्मशेखर बज्राचार्यको नश्वर शरीर हामी माझ नरहेता पनि उनले पाल्पा तानसेनको सांस्कृतिक इतिहासमा पुर्‍याएको योगदान सदैव अविस्मरणीय भएर रहिरहने छ । आदरणीय बुबा ब्रह्मशेखर बज्राचार्यको सुखावती भुवनमा बास होस् ।(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update