Shittalpati
कोरोनाको चपेटामा मादलको व्यापार

रमेश विश्वकर्मा
गुल्मी । हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार घर आँगनमा भित्रिन लागेको छ । तर विगतमा जस्तो तिहारको रौनकता भने छैन । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो । साथीभाइ जमघट भएर यतिबेला देउसी–भैलो खेल्ने तयारी हुन्थ्यो । तर, यो वर्ष अवस्था फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन । तिहारको समयमा देउसी–भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोल–टोलमा मादल बजाएर देउसी, भैलो खेल्ने अवस्था छैन । जसको असर मादल व्यवसायमा पनि परेको छ । विगतका वर्षहरूमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरू अहिले व्यापार नै शून्य भएपछि फुर्सदमा छन् । बाग्लुङ्गको गल्कोट हटियाका डिलबहादुर नेपालीले विगत ८ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास साहुटोलमा मादल विक्री वितरण गर्दै आएका छन् ।

उनले सदरमुकाम तम्घासमा गल्कोटे मादल पसल सञ्चालन गर्दै आएका छन् । विगतका वर्षहरुमा चाडपर्वकै समयमा ४ लाख भन्दा धेरैको मादल विक्री वितरण गरेको अनुभव उनीसँग छ । यस समयमा उनको पसलमा मादल बनाउने, पुनःमर्मत गर्ने लगायतका कामहरु भ्याई–नभ्याई हुने गथ्र्याे । तर यस वर्ष भने कोभिड–१९ का कारण विक्रीका लागि ठिक्क पारिएका मादल समेत खपत भएका छैनन् । ‘गत वर्ष यो समयमा ७०/८० वटा मादल विक्री गरिन्थ्यो ।’ नेपालीले भने ‘अहिले चार वटा मादल पनि जान सकेको छैन ।’ यस वर्ष कोरोना भाइरसका कारणले मादलको व्यापार हुन नसकेको नेपाली बताउँछन् । १३ वर्षको उमेरदेखि मादल बनाउँदै आएका नेपालीले ४० वर्ष भारतमा बिताए । तर आफुसँग भएको सीपलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले उनले मादल व्यवसाय सञ्चालन गरेका थिए । उनले ख्याली, देउसी, भैलो खेल्ने मादल, नेवारी मृदुङ्ग, पञ्चे बाजा, तबला बनाउने गरेको सुनाए । सँगै आधुनिक रुपमा प्रयोग हुने गितारको तार समेत फेर्ने गरेको नेपालीले बताए । तर पछिल्लो पुस्ताले यो पेशालाई अगाल्न नसकेको प्रति उनी दुःख व्यक्त गरे । ‘विदेशमा कठोर श्रम गर्न पनि तयार हुने । तर आफ्नै देशमा पसिना बगाउन लाज मान्ने गर्छन् ।’ आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा पनि लोप हुँदै गएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update