Shittalpati
यस वर्षको भाइटीकाको उत्तम साइत ११ः३७ बजे

पाल्पा । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको हो । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको जनाइएको छ ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय प्रचलन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (मह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय प्रचलन रहेको छ । मंसिर १ गते भाइटीका हो । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update