Shittalpati
रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ

पाल्पा । जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चोरी हुने घरकै मनकुमारीकी ३५ वर्षीया बुहारी राममाया श्रेष्ठ र पूर्व नवलपरासी बौदीकाली गाउँपालिका ३ का ३० वर्षीय माधव पंगेनी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रामपुर नगरपालिका ५ मा बस्दै आएका नवलपरासीका पंगेनी र श्रेष्ठले मिलेमतोमा तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गहना चोरी गरेका थिए । उनीहरु ति महिलालाई खुकुरी देखाएर कुटपिट गरी डर धम्की दिई बाकस र दराजमा रहेका नगद र सुनका गरगहना चोरी गरी भागेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई नगद र गहना लुकाई राखेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई डाका चोरी मुद्दामा पक्राउ गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update